• २० पुस २०८२, आइतबार

बाँकेमा अस्थायी मतदाताको विवरण संकलन सुरु

blog

निर्वाचनको तयारीमा व्यस्त रहेको निर्वाचन कार्यालय बाँके।तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, पुस १९ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा अस्थायी मतदाताको विवरण संकलन सुरु गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जिल्लामा रहेका तीनवटै निकायका सुरक्षाकर्मी, सबै सरकारी कर्मचारी, संस्थानका कर्मचारी, कारागारमा रहेका बाहिरी जिल्लाका कैदी बन्दीको विवरण संकलन गर्ने कार्य भइरहेको बताउनुभयो।

उहाँले जिल्लामा अस्थायी मतदाता ६ हजारको संख्यामा रहेको अनुमान गरिएको जनाउँदै उनीहरुको विवरण सम्बन्धित कार्यालयसँग माग गरिएको र हालसम्म करिब दुई हजार मतदाताको विवरण संकलन भइसकेको बताउनुभयो।

माघ ५ गतेसम्म सो विवरण संकलन गर्ने समय निर्धारित गरिएको जनाउँदै निर्वाचन कार्यालय बाँकेका प्रमुख शाहीले पहिलेदेखि आआफ्नो जिल्लाबाट मतदाता परिचयपत्र बनाएका मात्र अस्थायी मतदाता हुन पाउने बताउनुभयो।

बाँकेमा ९९३ जनाको दोहोरो नाम हटाएपछि अब नयाँ मतदाताको संख्या १७ हजार १५० कायम भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।

कार्यालयका प्रमुख शाहीका अनुसार बाँकेमा साविकका तीन लाख ३३ हजार ९३४ मतदाता रहेकोमा यस पटक थपिएका १७ हजार १५० जोडेर अब सो संख्या तीन लाख ५१ हजार ८४ पुगेको छ।

उहाँले जिल्लामा यस पटक १३९ मतदान स्थल र ४०० मतदान केन्द्र कायम भएको जनाउँदै अस्थायी मतदाताका लागि केही मतदान केन्द्र थपिने हुँदा अन्तिम संख्या केही दिनपछि थाहा हुने बताउनुभयो।

जिल्लामा रहेका मतदान स्थल र मतदान केन्द्रहरुको अवस्था बारे जानकारी लिने कार्य गरिसकिएको छ भने ती स्थल र केन्द्रहरुको सुरक्षाको योजना र व्यवस्था समेत गरिसकिएको छ। 

प्रतिनिधिसभा निर्वाचानका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म विशेष मतदाता नामावली संकलन गरेको थियो।जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार मतदाता नामावली संकलनकनो क्रममा नेपालगन्ज उपमहानगरपालिका, वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा ९९३ जनाको दोहोरो नाम दर्ता गराएको पाइएको हुँदा ती नामहरु हटाईएको थियो।