चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १९ गते। ताप्लेजुङमा सम्पन्न सङ्घीय मेला भलिबल उपाधि थुम्बेदिनले जितेको छ। सङ्घीय मेलाको अवसरमा खेलाइएको अन्तर वडास्तरीय भलिबल प्रतियोगितामा आम्बेगुदिनलाई ३–१ को सेटमा हराउँदै थुम्बेदिनले उपाधि जितेको हो।
उपाधि जितसँगै विजेताले एक लाख दुई हजार ६६ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेताले ५० हजार २८२ रुपियाँ नगदका साथै ट्रफी, पदक र प्रमाणपत्र पाएको छ। विजेतालाई सिरिजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान लगायतले पुरस्कार र ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नु भएको थियो।
सिरिजङ्घा गाउँपालिका–२, आम्बेगुदिनस्थित सङ्घीय मेला खेलकुद/सांस्कृतिक क्लबले आयोजना गरेको प्रतियोगिता पुस १६ गते सुरु भई शनिबार सम्मपन्न भएको हो। क्बलका अध्यक्ष रक्की थेबेका अनुसार प्रतियोगितामा विभिन्न १४ टोलीले सहभागिता जनाएका थिए।
यता विगत १७ वर्षदेखि निरन्तर लाग्दै आएको ऐतिहासिक सङ्घीय मेलामा शुक्रबार साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिमा बृहत् सांस्कृतिक सङ्घीय साँझ आयोजना गरिएको थियो। मेला आम्बेगदिनको खाम्दिमे बजारमा सञ्चालन गरिएको थियो।