किएभ, पुस १९ गते । युक्रेनले शनिबार आफ्ना प्रमुख सुरक्षा साझेदार देशका सुरक्षा सल्लाहकारसँग महत्त्वपूर्ण वार्ता आयोजना गरेको छ । युक्रेनी पक्षले शान्ति सम्झौताको प्रक्रिया अन्तिम चरणतर्फ अघि बढिरहेको दाबी गरिरहँदा रुसले भने नयाँ वर्षको दिन भएको घातक आक्रमणले वार्ताको प्रयासलाई कमजोर बनाएको आरोप लगाएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार करिब १५ देशका प्रतिनिधि, युरोपेली सङ्घ र नाटोका अधिकारी वार्तामा सहभागी छन् भने अमेरिकी प्रतिनिधिमण्डल भिडियोमार्फत जोडिएको छ । शनिबारको छलफलपछि ‘कोएलिसन अफ द विलिङ’ का नेता आगामी साता फ्रान्समा पुनः भेला हुने अपेक्षा गरिएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा जेलेन्स्कीले अमेरिकाको पहलमा अघि बढाइएको शान्ति योजना करिब ९० प्रतिशत तयार भइसकेको बताए पनि केही महत्वपूर्ण क्षेत्रीय विषयमा सहमति हुन बाँकी रहेको उल्लेख गर्नु भएका थिए । रुसले युक्रेनको करिब पाँचौ भाग भूभाग कब्जा गरिसकेको छ र उसले दैनिकजसो क्षेप्यास्त्र तथा ड्रोन आक्रमण जारी राख्दा हजारौँ सर्वसाधारणको ज्यान गएको र लाखौँ विस्थापित भएका छन् ।
किएभले रुस शान्तिप्रति इच्छुक नरहेको र थप भूभाग कब्जा गर्ने उद्देश्यले कूटनीतिक प्रयास विफल पार्न खोजिरहेको आरोप लगाउँदै आएको छ । यसैबिच, रुसले खेरसोनमा रहेको एक होटलमा भएको आक्रमणलाई ‘आतङ्कवादी हमला’ भन्दै शान्ति प्रयास तोडफोड गरिएको आरोप लगाएको छ । उक्त आक्रमणमा नयाँ वर्ष मनाइरहेका २८ जनाको मृत्यु भएको बताइएको छ ।
युक्रेनले भने त्यो स्थान सैनिक जमघट भएको दाबी गरेको छ । दुबै दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । अमेरिकाको समर्थनमा तयार पारिएको शान्ति प्रस्ताव अनुसार युक्रेनले डोनबास क्षेत्रका केही भाग त्याग्ने र नाटोमा नजाने सहमति गर्नु पर्ने उल्लेख छ । तर जेलेन्स्कीले रुसले कब्जा गरेको भूभागलाई औपचारिक रूपमा रुसकै मान्यता दिने प्रावधान हटाउन युक्रेन सफल भएको बताउनु भएको छ ।
यसै क्रममा, राष्ट्रपति जेलेन्स्कीले फ्रान्समा हुने जनवरी ६ को शिखर सम्मेलन अघि मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । साथै, युक्रेनी सैन्य गुप्तचर प्रमुख काइरिलो बुदानोभलाई राष्ट्रपतीय कार्यालय प्रमुखमा नियुक्त गरिएको छ । उहाँले आन्द्रिय यर्माकको स्थान लिएका हुन्, जसले भ्रष्टाचार अनुसन्धानपछि पदबाट राजीनामा दिनु भएका थिए ।
राष्ट्रपति जेलेन्स्कीले वर्तमान अवस्थामा युक्रेनलाई सुरक्षा, रक्षा संरचना सुदृढीकरण र कूटनीतिक वार्तामा विशेष ध्यान आवश्यक रहेको उल्लेख गर्दै बुदानोभसँग ती क्षेत्रमा आवश्यक अनुभव र क्षमता रहेको बताउनु भयो । नवनियुक्त प्रमुख बुदानोभले जिम्मेवारी स्वीकार गर्दै युक्रेनको सेवामा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । रासस/एएफपी