भेनेजुएला, पुस १९ गते । भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ। विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए। केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए।
राजधानीको एक सैन्य ह्यान्गरबाट धुवाँ उठेको देखियो। २१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले भन्नु भयो, “सारा जमिन हल्लियो। यो अनुभव अत्यन्त डर लाग्दो थियो। हामीले विस्फोट र विमान देख्यौं।” राष्ट्रपति निकोलस मादुरोले आफ्ना समर्थकहरूलाई सडकमा आउन र ‘साम्राज्यवादी आक्रमण’ को विरोध गर्न आह्वान गर्नु भएको छ।
सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागु गर्न आदेश दिएको छ र बाह्य सङ्कटको घोषणा गरेको छ। यसअघि अमेरिकी सेनाले ड्रग तस्करी गर्ने डुङ्गाहरूलाई निशाना बनाएको थियो।
मादुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गर्न र देशका तेल स्रोतमा पहुँच बनाउन खोजेको आरोप लगाउनु भएको छ। (रासस/एपी)