• २० पुस २०८२, आइतबार

पूर्वमन्त्री खड्का रास्वपा प्रवेश

blog

पूर्वमन्त्री कुमार खड्का ।

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १९ गते । पूर्वमन्त्री कुमार खड्का र नेकपा (एमाले) का नेता एवम् व्यवसायी पुष्पराज अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नु भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा रास्वपा उपसभापति स्वर्णीम वाग्लेले उहाँहरूलाई पार्टी प्रवेश गराउनु भएको हो । 

नेपाली कांग्रेस पृष्ठभूमिका खड्का दोस्रो जनआन्दोलनपछि अखण्ड नेपाल पार्टी खोलेर समानुपातिकबाट सांसद बन्नु भएको थियो । संविधान सभामा रहँदा उहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बन्नु भएको थियो । 

पछि आफ्नो सिङ्गो पार्टीलाई नै नेपाली कांग्रेसमा विलय गराउनुभएका खड्का गण्डकी प्रदेशमा समानुपातिकबाट सांसद बन्नु भएको थियो । उहाँ प्रदेशसभाको अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्रीसमेत बन्नु भएको थियो । २०७९ को निर्वाचनका बेला कास्की २ (२) मा निकटका आकाङ्क्षी खड्काले टिकट पाउनु भएन । 

पछि निर्वाचनमा काङ्ग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अभियोगमा कारबाहीमा पर्नु भएको थियो । त्यस यता निष्क्रिय रहनु भएका खड्काले वैकल्पिक शक्तिबाट देश निर्माण सम्भव भएकाले रास्वपा रोजेको बताउनु भयो । “परम्परागत शक्तिबाट अब देशको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ छ । 

रास्वपा प्रवेश गर्नुभएका अधिकारी एमालेका स्थापित नेता हुनु हुन्छ । रुपाकोट रिसोर्टका सञ्चालकसमेत रहनु भएका उहाँ गत निर्वाचनमा सांसदको आकाङ्क्षी समेत हुनु हुन्थ्यो । शनिबार व्यवसायी मिलन थापाले पनि रास्वपा रोज्नु भएको छ ।