• १९ पुस २०८२, शनिबार

स्विट्जरल्यान्डको बारमा लागेको आगलागीमा मृत्यु सङ्ख्या बढ्ने आशङ्का, ११९ जना घाइते

blog

जेनेभा, पुस १९ गते । स्विट्जरल्यान्डको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको एक बारमा लागेको भीषण आगलागीमा करिब चालिस जनाको मृत्यु भएको अनुमान गरिएको छ भने घाइतेको सङ्ख्या एक सय उन्नाइस पुगेको छ । प्रहरीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

भालाइस क्यान्टनको क्रान्स-मोन्टाना स्की रिसोर्टमा रहेको ‘ले कन्स्टेलेसन’ नामक बारमा राति आगलागी भएको थियो । घाइतेमध्ये एक सय तेह्र जनाको पहिचान भइसकेको छ भने केही युरोपेली देशले आफ्ना नागरिक अझै बेपत्ता रहेको जानकारी दिएका छन् । स्विस अधिकारीका अनुसार आगामी दिनमा मृत्यु सङ्ख्या अझै बढ्न सक्ने आशङ्का छ ।

क्षेत्रीय स्वास्थ्य तथा सुरक्षा अधिकारी स्टेफान गान्जरले फ्रेन्च रेडियो आरटिएलसँग कुरा गर्दै घाइतेमध्ये करिब अस्सीदेखि सय जनासम्मको अवस्था गम्भीर रहेको बताउनु भएको छ । 

आपतकालीन उद्धार र शोक

आगलागी सुरु भएको केही मिनेटमै स्थानीय समय अनुसार राति करिब साढे एक बजे आपतकालीन सेवा सक्रिय गरिएको थियो । घटनास्थलमा एकचालीस एम्बुलेन्स, तेह्र हेलिकाेप्टर र एक सय पचासभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । बार वरिपरि करिब एक सय मिटर क्षेत्र सिल गरिएको थियो । पीडितको सम्झनामा मानिसले फूल र मैनबत्ती राख्दै शोक व्यक्त गरेका थिए ।

सरकारको प्रतिक्रिया

स्विस महासङ्घका  गाइपार्मेलिनले यस आगलागीलाई देशको इतिहासकै सबैभन्दा गम्भीर दुर्घटना मध्ये एक भएको बताउनु भयो । उहाँले नयाँ वर्षको सम्बोधनसमेत स्थगित गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नु भयो । सरकारी भवन फेडरल प्यालेसमा पाँच दिनसम्म झण्डा आधा झुकाइने निर्णय पनि गरिएको छ ।

अन्तर्राष्ट्रिय सहयोग

घटनामा मृत्यु र घाइतेमध्ये धेरै जसो युवा रहेका छन् । घाइतेलाई स्विट्जरल्यान्डका सियोन, लोजान, ज्युरिख र जेनेभाका अस्पतालमा भर्ना गरिएको छ भने केहीलाई विदेशका अस्पतालमा सारिएको छ । इटालीले आफ्ना तेह्र नागरिक अस्पतालमा भर्ना भएको र छ जना अझै बेपत्ता रहेको जनाएको छ । पोल्यान्डले चौध जना घाइतेलाई उपचारका लागि स्वीकार गरेको छ । फ्रान्सले पनि आफ्ना नागरिकको उपचारका लागि सहयोग गरिरहेको छ ।

आगलागीको सम्भावित कारण

घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बारका कर्मचारीले बोतलमा जोडिएका सल्किने बत्ती प्रयोग गरेको देखिएको छ । भालाइस क्यान्टनका अभियोजकका अनुसार ती बत्ती आगलागीको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अधिकारीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र सबै सम्भावनालाई खुला राखिएको बताएका छन् । भालाइस क्षेत्रीय सरकारले जनवरी ९ मा क्रान्स–मोन्टानामा स्मृतिसभा आयोजना गरिने पनि घोषणा गरेको छ । रासस/सिन्ह्वा