• १९ पुस २०८२, शनिबार

४० किलोमिटर छोटियो ढोरपाटन जोड्ने सडक

blog

ढोरपाटनमा आन्तरिक पर्यटक ।

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस १९ गते । बागलुङको पर्यटकीयस्थल ढोरपाटन उपत्यका जोड्न म्याग्दी तर्फबाट छोटो दूरीको सडक सञ्चालनमा आएको छ । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना–खोरीया–मरेनी–जलजला–गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडक सञ्चालनमा आएको हो ।

गएको असारमा ट्रयाक खुलेको सडक प्रयोग गरेर शुक्रबार धवलागिरि गाउँपालिकाको बा. १ झ. ७०७ नम्बरको गाडी पहिलो पटक ढोरपाटन पुगेको हो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगर, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, योजना अधिकृत हरिहर पनेरु, पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावल र प्राविधिक जनक धानुकको टोली मुनादेखि नयाँ सडक प्रयोग गरेर ढोरपाटन पुगेको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनु भयो । 

उहाँले भन्नुभयो, “हिजो हामी मुनादेखि गाडी चढेर तीन घण्टामा ढोरपाटनसम्म पुग्यों । बागलुङ बजारदेखि बुर्तिवाङ ९४ किलोमिटर र बुर्तिबाङदेखि ढोरपाटन ३२ किलोमिटर दूरीमा पर्छ । तर बेनीदेखि ७५ किलोमिटरको दूरीमा ढोरपाटन पुग्न सकिने उहाँको भनाइ छ । 

प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो । यो सडकलाई धवलागिरि गाउँपालिका मात्र नभएर म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रूपान्तरणका लागि महत्त्वपूर्ण आधारका रूपमा लिन सकिन्छ । 

बागलुङदेखि ढोरपाटन जोड्ने सडकको तुलनामा आधाभन्दा धेरै छोटो यो सडक पूर्वी रुकुमसँग जोडिएपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बन्न सक्ने मालिका गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरको भनाइ छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने छोटो दूरीको सडक हो । 

हाल प्रयोगमा आइरहेको बागलुङदेखि ढोरपाटन जोड्ने सडकको दूरी एक सय २६ किलोमिटर छ । गत आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि गाउँपालिका–२, मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्रयाक निर्माण भएको छ । 

मुनादेखि तल्लो जलजलाको दूरी १४ किलोमिटर छ । ढोरपाटनबाट जलजला जोड्ने १० किलोमिटर कच्ची सडक यसअघि नै जोडिएको थियो । मुना–जलजला–ढोरपाटन खण्डमा पर्ने खोलामा मोटरेबल पुल नभएकाले बर्खामा यातायात सञ्चालन गर्न भने चुनौती रहेको उपाध्यक्ष पुन मगरको भनाइ छ । 

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडकको मार्ग खुलेमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने बताउनु भयो । उहाँका अनुसार पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्छ । 

म्याग्दी सदरमुकाम बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शिर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनु भयो । 

पुर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार तीन सय २५ बर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष हो । आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसर छन् ।