प्रवीणकुमार शर्मा
रौतहट, पुस १९ गते । रौतहट सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालय खारेजको विरुद्धमा उद्योग वाणिज्य सङ्घ रौतहटद्वारा जारी आन्दोलनको सबै कार्यक्रम फिर्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल र उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिसँगको वार्तामा सहमति जुटेसँगै करदाता सेवा कार्यालय खारेजीविरुद्ध उद्योग वाणिज्य सङ्घ रौतहटले गर्दै आएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष रबिन्द्रनाथ गोपालीले बताउनु भयो ।
स्थानीय तह र कोष तथा लेखा नियन्त्रक कार्यालयको क्षमता विकास गरी स्थानीय तहबाट गर्न सक्ने तोकिए बमोजिमका कामहरू स्थानीय तहबाट गर्दै जाने, गौरमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्न रौतहट जिल्लाका सरोकारवालाहरूबाट पहल गर्ने र हाल करदाता सेवा कार्यालयबाट भएका सम्पूर्ण सेवाहरू करदाताको सेवामा समस्या नहुने गरी कोष तथा लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको क्षमता विकास नभएसम्म करदाता कार्यालय गौरबाट नै जारी राख्ने गरी अर्थ मन्त्रालयसँग अनुरोध गर्ने भनि लिखित सहमति भएको उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष गोपालीले बताउनु भयो ।
वार्तामा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारि दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिन कार्की, नेपाली कम्युनिस्ट पार्टी रौतहटका नेता रेवन्त झा, उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष रबिन्द्रनाथ गोपाली, निर्माण व्यावसायी संघ रौतहटका तर्फबाट अरविन्द जयसवाल, नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथप्रसाद केशरी लगायत सहभागी रहनुभएको थियो ।
करदाता सेवा कार्यालय खारेजीको विरुद्धमा विरोध प्रदर्शन, करदाता सेवा कार्यालयको मुलगेटमा धर्ना प्रदर्शनका साथै कार्यालयमा तालाबन्दी लगायतका कार्यक्रम जारी रहेको थियो ।