टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस १९ गते । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाका १७४ जनाको आँखा परीक्षण, उपचार तथा २६ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुरु क्षेत्र गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको प्राविधिक सहयोगमा बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
शिविरका लागि रुरु क्षेत्र गाउँपालिकाका सबै वडाहरूमा गरिएको स्क्रिनिङ्ग मा ३३७ जनाको आँखा परीक्षण र ३५ जना मोतियाविन्दुका बिरामी पत्ता लागेका थिए । ती मध्ये १३ जनालाई थप उपचारका लागि रेफर गरिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक इन्द्रदेव पौडेलले जानकारी दिनु भयो । उक्त शिविरमा लुम्बिनी नेत्र विज्ञान तथा अनुसन्धान केन्द्रको नेत्र रोग विशेषज्ञ डाक्टर बेबीका फुयाँलको नेतृत्वमा जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको प्राविधिक टोलीले शल्यक्रिया र उपचार गरेको थियो ।
शल्यक्रियाका लागि सहयोग सेभा नेपालको रहेको थियो । रुरु गाउँपालिकाका प्रमुख यदु ज्ञवालीले पालिकाले रिडीमा आँखा उपचार केन्द्र सञ्चालन, नेत्र ज्योतिसँगको सहकार्यमा निःशुल्क शल्यक्रिया र प्रत्येक वर्ष शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको बताउनु भयो । नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा गुल्मीका सभापति अखिलेश्वर प्रसाद पाण्डेयले आँखाको उपचारमा ढिलासुस्ती र खेलाँची गरेर घरमा नबस्न आग्रह गर्नु भयो । उहाँले नेत्र ज्योति संघसहित पालिका स्तरहरूमै उपचार तथा शल्यक्रियाको अवसरहरू प्राप्त भएकाले संसार चिहाउने आँखाको ज्योति गुमाएर घरमै गुमनाम नहुन सबैलाई आग्रह गर्नु भयो ।
रुरुक्षेत्र गाउँपालिकामा रुरु प्राथमिक स्वास्थ्य केन्द्र छ । दुई जना मेडिकल अधिकृतसहितका जनशक्तिबाट नागरिकको स्वास्थ्य सेवामा क्षेत्रमा गाउँपालिकाले काम गरिरहेको छ । त्यो बाहेक १५ शय्याको अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको छ । गाउँपालिकाले बिरामी परे घर नजिकै रगत परीक्षणको प्रत्येक वडामा प्रयोगशाला सञ्चालन गरिरहेको रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको पेन्सन योजना कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका र नागरिक लगानी कोषबीच सम्झौता गरेर गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयं सेविकालाई निवृतिभरण योजना सुविधामा समेटेको छ ।
रुरुमा प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्यचौकी ६ र आर्युवेद औषधालय दुई वटा रहेका छन् । यी मध्ये आर्युवेद बलेटक्सारको आफ्नै भवन छैन् । पालिकामा एक एम्बुलेन्स सञ्चालनमा रहेको र एउटा खरिदको चरणमा रहेको । पूर्ण संस्थागत सुत्केरी गाउँपालिका, पूर्णखोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको ज्ञवालीले जानकारी दिनु भयो ।