• १९ पुस २०८२, शनिबार

कुखुरा फर्ममा आगलागी : एक हजार चल्ला जलेर नष्ट, ११ लाखको क्षति

blog

आगलागीबाट नष्ट कुखुरा फर्म । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

भवानीदत्त भट्ट
कञ्चनपुर, पुस १९ गते ।
कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति पुगेको छ । दोधारा चाँदनी नगरपालिका–६ का स्थानीय व्यवसायी रमेश औजीको लक्ष्मी पशुपक्षी फर्मका दुई वटा कुखुरा फर्ममा शुक्रबार राति करिब १ बजे आगलागी भएको हो ।

आगलागीबाट फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ, भने खोरभित्र पालिएका एक हजार एक सय कुखुराका चल्ला, २० कट्टा चारो लगायत खोरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको व्यवसायी औजीले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, गएराति १ बजे विद्युतको तार सर्ट भएर आगो सल्केको बुझ्नमा आएको छ । आगलागीपछि स्थानीय, नेपाल प्रहरी तथा दमकलको सहयोगमा बिहान करिब ४ः३० बजे आगो नियन्त्रणमा लिइएको प्रनाउ बोहराले बताउनु भयो ।

प्रहरीका अनुसार, कुखुराको चल्लाको हेरचाहका लागि खोरमै सुतेका राहुल औजी भने भाग्न सफल भएका थिए । औजीले सुतिरहेको अवस्थामा माथिबाट केही खसेपछि आगो लागेको थाहा पाएर भागेर ज्यान जोगाएको बताउनु भयो ।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ११ लाख रुपियाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।