बाबुराम कार्की
वराहक्षेत्र (सुनसरी) पुस १९ गते । नेपालमा बसाइसराई गरेर आउने हिउँदे आगन्तुक जल पन्छीको गणना सुरु भएको छ । राष्ट्रव्यापी रुपमा शनिबारबाट जल पन्छीको गणना सरु भएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पन्छीविद् संघको संयोजनमा चरा गणना सुरु गरिएको नेपाल पन्छीविद् संघको कार्यकारी निर्देशक तथा चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालसहित एसिया महादेशभरि हरेक वर्ष जनवरी तीनदेखि चरा गणना हुँदै आएको छ । नेपालमा जनकपुरको धनुसाधाम, कमला नदी, घोडाघोडी तालमा शनिबार बिहानैदेखि चराविद् तथा चराका जानकारहरुबाट गणना सुरु गरिएको छ ।
चरा गणनामा खटिएका चराका जानकारहरुले क्यामेरा, दूरबीन, टेलिस्कोपको सहायताले चरा गणना गर्ने बताइएको छ । चरा गणनाको विधि अपनाई दोहोरो नपर्ने गरी गणकहरुले गणना गर्ने संयोजक पौडेलको भनाइ छ । नेपालमा सन् १९८७ देखि एसियन वाटरबर्ड सेन्ससले चरा गणनाको सुरु गरेको थियो । सेन्ससले पानीमा बस्ने चरा र बसाइसराई गर्ने चराको अध्ययनका साथै सिमसार क्षेत्रको अवस्था पत्ता लगाई तिनको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सुसूचित गराउँदै आएको छ ।
जनवारीको पहिलो शनिबारबाट दुई हप्ताभित्र राष्ट्रिय निकुञ्ज तथा आरक्ष क्षेत्रको आसपासका ताल वा सिम क्षेत्रहरुमा गणकहरुले समय मिलाएर गणना गरिने भएको छ । नेपालका दसवटा रामसार सूचीमा सूचिकृत क्षेत्र भए पनि भौगोलिक विकटताका कारण ६ वटा सूचिकृत क्षेत्रमा चरा गणना गरिने नेपाल पन्छीविद् संघले जनाएको छ ।
सिमसारक्षेत्र र राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रभित्र र वरिपरिका क्षेत्रहरुमा विभागको नेतृत्वमा पन्छी गणना प्रत्येक वर्ष हुँदै आएको छ । चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पोडेलले प्रत्येक वर्ष नेपाली पुस महिनामा चरा गणनामा गर्ने गरिएको बताउनु भयो । गत वर्ष नेपालभरि ९६ प्रजातिका ९६ हजार ५६५ वटा गणना गरिएको थियो । ४६६ जना चराका जानकारहरुबाट गणना गरिएको पौडेलले बताउनुभयो । यस वर्षको गणनामा चार सयचन्दा बढी गणकहरुले चरा गणना गर्ने जनाइएको छ । नेपालभरिका ७८ वटा सिमसार, खोलानाला, पोखरीमा चरा गणना गरिने छ ।
नौ सय प्रजातिका चराहरु रेकर्ड भएकोमा एक सय ६० भन्दा बढी प्रजातिका चराहरु पानीमा आश्रित रहेका छन् । पानीमा आश्रित चराहरुमा हाँसका प्रजातिहरु, बकुलाका प्रजाति, गरुडका प्रजाति, हुटीट्याउ लगायत पानीमा निर्भर रहने जल चराहरुको विज्ञहरुद्वारा गणना गरिने छ । पानीमा बस्ने चराहरु बढी संवेदनशील हुने भएकाले अनुगमन गर्न सजिलो हुने र यसबाट बसाइसराई गर्ने चराहरुको प्राकृतिक र स्वास्थ्यअ वस्था थाहा पाउन सकिने वरिष्ट इकोलोजिष्ट एवं नेपाल पन्छीविद् संघका सूचना अधिकारी हरिभद्र आचार्यले बताउनुभयो ।
जनावरी महिनामा पानीमा आश्रित जलपन्छीहरु प्रजनन् नहुने भएकाले गणना कार्यमा सहज हुने चराविद्हरुको भनाइ छ । जलवायु परिवर्तनको अवस्थालाई चराले प्रतिनिधित्व गर्न सक्ने भएकाले गणना कार्यको थप महत्त्व रहेको बताइएको छ ।