लीलाधर वली
घोराही, पुस १९ गते । घोराही–तुलसीपुर चोरलेन सडक विस्तारका क्रममा सडक सिमाभित्र पर्ने विद्युत पोल व्यवस्थापनको काम सुरु भएको छ । घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुर हात्तीखौवासम्मको करिब २१.५८ किलोमिटर सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने विद्युतका पोल व्यवस्थापनको काम गर्न थालिएको हो ।
सडक सीमाभित्र रहेका विद्युत पोलहरू शुक्रबारदेखि व्यवस्थापनको काम सुरु गरिएको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका साइट इन्चार्ज भूपेन्द्रकुमार बाठा मगरले जानकारी दिनुभएको छ । साइड इन्चार्ज बाठा मगरका अनुसार चारलेन सडकअन्तर्गत घोराहीको अमाराईदेखि बिजौरीसम्म सडक क्षेत्रमा पर्ने पोल व्यवस्थापनसँगै तार स्थान्तरणको काम सुरु भएको हो ।
उहाँका अनुसार पहिलो चरणमा ११ केभी लाइनका विद्युत पोलहरू व्यवस्थापनसँगै तार सार्ने काम सुरु भएको भन्दै ११ केभीको काम सकिएपछि ३३ केभी र एलटी (सर्वसाधारण घरमा बत्ती पाल्न प्रयोग गरिने पोल) व्यवस्थापन गरिन थालिएको छ । घोराही–तुलसीपुर चोरलेन सडकअन्तर्गत हाइटेन्सन ३३ केभी, ११ केभी र एलटी लाइनका विद्युत पोलहरु रहेका छन् ।
चारलेन सडक विस्तारका क्रममा विद्युत पोलका कारण सडकमा काम गर्न समस्या नपरोस भनेर पोल व्यवस्थापनको काम सुरु गरिएको भन्दै साइट इन्चार्ज बाठाले भन्नुभयो, ‘‘विद्युत पोलका कारण सडक विस्तारमा समस्या नहोस भनेर पोल व्यवस्थापनको काम सुरु गरेका छौँ । पोल व्यवस्थापनमा समस्या लाग्ने भए पनि प्रविधिको प्रयोगले जति सक्यो चाडै सक्ने गरी काम गर्दैछौ ।’’
चारलेनअन्तर्गत करिव नौ सय बढी विद्युत पोलमध्ये घोराही विद्युत वितरण केन्द्रअन्तर्गत घोराहीदेखि बिजौरीसम्म करिब आठ सय ४३ वटा पोल सडक क्षेत्रमा रहेका छन् भने बाँकी पोल नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखाले गर्र्नेछ । त्यसैगरी चारलेन सडक विस्तारका क्रममा सडकसिमाभित्र पर्ने करिव ७० देखि ८० वटा रुख रहेका छन् ।
लामो समयदेखि अलपत्र परेको चारलेन सडक विस्तारसँगै स्तरोन्नतिको काम गत मङ्सिर १ गतेदेखि दिवा/बन्दन भगवती जेभीले सुरु गरेको छ । सडक विस्तारअन्तर्गत अमराईदेखि हापुरखोला सडक क्षेत्रमा माटो कटिङसँगै रोलिङ, वाल उठाउनेदेखि कल्र्भट निर्माणको काम भइरहेको सडक निर्माणको जिम्मा पाएको दिवा÷बन्दना भगवती जेभीका कन्ट्रयाक्ट म्यानेजर सुनिल ढुङ्गाना बताउनुहुन्छ ।
चारलेन सडकमा माटो कटिङ, फिलिङ र रोलिङको काम सकिएपछि ग्राभेल राख्ने काम गरिने छ । ठेक्का सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुनेछ । घोराही–तुलसीपुर चार लेन सडक स्तरोन्नतिका लागि दुई अर्ब ५३ करोड रुपियाँमा काठमाडौँको दिवा÷बन्दना भगवती जेभीसँग २०८२ असार २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेसम्म निर्माणको काम सक्नुपर्नेछ ।