• १९ पुस २०८२, शनिबार

पोखराका सबै वडामा ‘मखी ताल’ मञ्चनको तयारी

blog

फडिन्द्र अधिकारी 
लेखनाथ, पुस १९ गते ।
वातावरण संरक्षण, फोहर व्यवस्थापन, स्वच्छ जीवनशैली जस्ता विषयमा जनचेतना जगाउन पोखरा महानगरका सबै वडामा नाटक मञ्चन गरिने भएको छ । पोखरा थिएटरको आयोजनामा नाटक ‘मखी ताल’ महानगर ३३ वटै वडामा देखाउने तयारी भएको हो ।

आइतबारबाट मञ्चन सुरु हुँदै छ । नाटक पहिलो दिन महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा देखाइनेछ । थिएटरका संस्थापक अध्यक्ष परिवर्तन नाटकले हाँस्यव्यङ्ग्यमार्फत् दर्शकमा सन्देश प्रवाह गर्ने बताउनुहुन्छ । “तयारी करिब सकिएको छ । यो नाटक महानगरका सबै वडामा मञ्चन गर्ने योजना छ,” उहाँले भन्नुभयो ।

मखीताल लेखन तथा निर्देशन दुवै परिवर्तनले नै गर्नुभएको छ । यसमा परिवर्तनसहित रमेशबाबु तिमल्सिना, सुसन पौडेल, उमा पुन, धनकाजी श्रेष्ठ, उत्सर्ग सुवेदी, रञ्जु दाहाल, श्रद्धा आचार्य, श्रीकृष्ण भण्डारीलगायतले अभिनय गर्नुभएको छ ।  

४० मिनेटको यो नाटकबाट दर्शकले मनोरञ्जनसहित रिसाक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना (जिसिआरयु) परियोजनाबारे जानकारी पाउने छन् । नाटकमा प्रप्स तथा कस्टुम परिकल्पना निर्माण विकास अधिकारी र कार्यक्रम संयोजकको जिम्मेवारी प्रकाश रेग्मी हमालले सहाल्नुभएको छ ।

नाटकको पोस्टर डिजाइन भानुभक्त सापकोटाले गर्दा अभिलेखको जिम्मा अस्मिता गोदार र स्वयंसेवकको जिम्मा वीनिता बयलकोटीले लिनुभएको छ । देशकै ठुलो महानगर पोखराको फोहोर व्यवस्थापन र वातावरण संरक्षण दुवै पक्ष चुनौतीपूर्ण छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानो ल्यान्डफिल साइट बन्द भएकोमा महानगरले अझै नयाँ ल्यान्डफिल साइट बनाउन सकेको छैन ।