• १९ पुस २०८२, शनिबार

विकृति भित्र्याउने गतिविधिमा रोक्ने प्यावसन सिरहाको निर्णय

blog

सरस्वती पूजामा विकृति रोकने गरेको निर्णय प्यावसन सिरहाका अध्यक्ष उमेश चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराउनुहुँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव 
लहान, पुस १९ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन) सिरहाले सरस्वती पूजाको नाममा भित्रिएको विकृतिमा यस वर्षदेखि रोक लगाउने निर्णय गरेको छ ।

सांस्कृतिक कार्यक्रम तडकभडकको साथ गर्न नहुने, ध्वनि प्रदूषण गराउने डिजे साउन्ड र होर्न बजाउन नहुने, विद्यालय पोशाक बाहेक रङ्गीचङ्गी पोशाकमा सरस्वती पूजाको दिन रोक लगाउने र सरस्वती पूजाको नाममा कुनै किसिमको चन्दा उठाउन नपाउने निर्णय गरिएको प्यावसन सिरहाका अध्यक्ष उमेश चौधरीले जानकारी गराउनुभयो ।

सरहामा रहेका १६२ प्यावसन आवद्ध विद्यालय र एक सयको हाराहारीमा रहेको एन प्यावसन संस्थागत विद्यालयमा विगतका वर्षमा सरस्वती पूजाको नाममा उठाउने चन्दा, सांस्कृतिक कार्यक्रम भड्किलो र खर्चिलो साथै चर्को स्वरमा अश्लिल गीत नृत्य समेतको सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइएको थियो । यसले अभिभावकहरुलाई थप आर्थिक भार पर्नुका साथै बलात्कारको घटना समेत घटेकाले यस वर्षदेखि सरस्वतीपूजाको नाममा भित्रिने विकृतिहरुलाई पहिचान गरी रोक लगाउने निर्णयमा पुगेको उहाँले बताउनुभयो ।

लहान नगरपालिकामा रहेका ५९ वटा सामुदायिक विद्यालय र १०५ वटा संस्थागत विद्यालयमा सरस्वती पूजाको नाममा कुनै किसिमको चन्दा सङ्कलन, सांस्कृतिक कार्यक्रममा डिजेको प्रयोग र विद्यालय पोशाक बाहेकका अन्य पोशाकमा विद्यार्थीहरुको उपस्थिति नगराउने निर्णय भएको छ ।  लहान नगरपालिका शिक्षा शाखाले विद्यालयहरुलाई सूचना नै जारी गरेको अवस्थामा लहान नगरपालिकाको निर्णयलाई सहयोग पुग्ने गरी प्यावसन सिरहाले गरेको निर्णय स्वागतयोग रहेको शिक्षा संयोजक समेत रहनुभएको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।

सरस्वती पूजाको दिन लहानमा शान्ति सुरक्षा चुनौपूर्ण बनिरहेको गत विगतको तथ्याङ्कले देखाएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी उपरीक्षक कैलाश राईले बताउनुभयो । ‘‘यस वर्ष लहान नगरपालिका र प्यावसन सिरहाले गरेको निर्णयले सरस्वती पूजा शान्तिपूर्वक हुनेमा विश्वस्त छौँ,’’उहाँले भन्नुभयो ।

लहान –११ स्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रकुमार यादवले सरस्वती पूजालाई शान्ति पूर्ण रुपमा सम्पन्न गर्न प्यावसन सिरहाको निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।