• १९ पुस २०८२, शनिबार

‘एक्लो’, ‘हाउसमेड’ र ‘४५’ प्रदर्शनमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १९ गते । नेपाली चलचित्र हलमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर एक नेपालीसहित तीन चलचित्र प्रदर्शनमा आएका छन् । नयाँ चलचित्र शुक्रबार प्रदर्शन गर्ने परम्परा रहे पनि अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर तीन चलचित्र बिहीबारदेखि प्रदर्शनमा आएका हुन् । प्रदर्शनमा आएकामध्ये नेपाली ‘एक्लो’ रहेको छ भने हलिउड चलचित्र ‘दी हाउसमेड’ र साउथ ‘४५’ रहेको छ ।

चलचित्र ‘एक्लो’ नेपालमा बनेको पहिलो साइन्स फिक्सन चलचित्र हो । प्रदीप खड्का अभिनीत चलचित्रको लेखन तथा निर्देशन प्रदीप शाहीको रहेको छ । चलचित्रको अन्य कलाकारमा विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योनसविक सिंहलगायतका रहनुभएको छ । बेलायती अभिनेता जेमी बेकनसमेत चलचित्रमा देखिनुभएको छ भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुनुहुन्छ । चलचित्रले १२४ सो पाएको छ ।

हलिउड चलचित्र ‘दी हाउसमेड’ सिड्नी स्विनी अभिनीत हो । चलचित्रले देशव्यापी ३६ सो मात्र पाएको छ । १२६ मिनेट रनटाइमको रहेको चलचित्रले देशव्यापी ३६ सो मात्र पाएको छ । एक धनाढ्य जोडीको सुसारे बनेकी एक युवतीको कथावस्तुमा चलचित्र आधारित छ । 

दक्षिण भारतीय एक्सन चलचित्र ‘४५’ कन्नड भाषाको काल्पनिक कथामा आधारित छ । सङ्गीतकारका रूपमा परिचित अजर्सन जान्याको निर्देशन डेब्यु चलचित्रलाई रोश रेड्डीले निर्माण गर्नुभएको हो । शिव राजकुमार, उपेन्द्र, राज बी. सेट्टी, कौस्तुभ मणि र जिशु सेनगुप्तालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले देशैभर ८७ सो पाएको छ ।