• १९ पुस २०८२, शनिबार

सप्तरी एमालेद्वारा चारै निर्वाचन क्षेत्रबाट उम्मेद्वार सिफारिस

blog

देवराम यादव
सप्तरी, पुस १९ गते ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी सप्तरीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट आकाङ्क्षी उम्मेद्वारहरूको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कमिटीहरुको निर्णयअनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट सुमनराज प्याकुरेलको नाम एकल रूपमा सिफारिस गरिएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ बाट ताराकान्त चौधरी पनि एकल उम्मेद्वारका रूपमा सिफारिस हुनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ बाट तीन जनाको नाम सिफारिस गरिएको छ । यस क्षेत्रमा राजाराम यादव, पंचदेव खंग र मो. जियावुल रहमानको नाम सिफारिस गरिएको जिल्ला कमिटीका सचिव देवनाथ यादवले जानकारी दिनुभएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर ४ बाट गंगाप्रसाद चौधरी र देवनारायण चौधरीको नाम सिफारिस गरिएको छ ।

जिल्ला कमिटीका अनुसार पार्टीको विधान, संगठनात्मक मूल्याङ्कन, राजनीतिक योगदान, जनसमर्थन र समावेशिताको आधारमा उम्मेद्वारहरूको नाम सिफारिस गरिएको हो । सिफारिस भएका नामहरू अब प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइनेछ, जहाँ अन्तिम निर्णय हुने बताइएको छ ।

एमाले सप्तरीले आगामी निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको मुद्दा केन्द्रमा राखेर प्रतिस्पर्धा गर्ने तयारी गरेको जिल्ला कमिटीका सचिव यादवले जानकारी दिनुभयो ।

उहाँले उम्मेद्वार छनोटमा स्थानीय आवश्यकता, राजनीतिक सन्तुलन र जित सुनिश्चित हुने आधारलाई प्राथमिकता दिइएको बताउनुभयो ।