• १९ पुस २०८२, शनिबार

प्रथम मानाभारा गोल्डकपः उपाधिका लागि माछापोखरी र लालीगुराँस भिड्दै

blog

फाइनलमा प्रवेश हुन सफल माछापोखरी हिटी क्लब चाँगेका खेलाडीहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, पुस १९ गते ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी प्रथम मानाभारा गोल्डकपको उपाधिका लागि माछापोखरी हिटी क्लब चाँगे र लालीगुराँस स्र्पोटिङ युवा क्लब सुरुङ्खिमबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार हुने फाइनल खेलमा उपाधिका लागि माछापोखरी र लालीगुराँसबिच प्रतिस्पर्धा हुने भएको हो ।

शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा माछापोखरीले जनसेवा आर्दश र्स्पोटिङ क्लबलाई ७—१ गोलको फराकिलो अन्तरले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा लालीगुराँसले नवप्रयास युथ क्लब हाङ्देवालाई ७–६ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित समयमा दुबै टिमले समान १—१ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकाल्ने प्रयास गरिए पनि त्यो सफल हुन सकेन । पेनाल्टी सुटआउटमा पनि दुबै टिमले समान ४–४ गोल गरे । त्यसपछि खेलको नतिजा सडनडेथबाट निकालिएको हो ।

प्रतियोगिताको विजेताले नगद तीन लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेतालाई नगद एक लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको क्लबका सचिव अन्छङ्बोले बताउनुभयो । साथै विभिन्न विधामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो ।