मेलबर्न, पुस १८ गते । सात पटककी ग्रान्डस्लाम एकल च्याम्पियन अमेरिकी टेनिस स्टार भेनस विलियम्सलाई ४५ वर्षको उमेरमा अस्ट्रेलियन ओपनका लागि वाइल्डकार्ड प्रदान गरिएको छ । यससँगै उहाँ सिजनको उदघाटन ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्ने सबैभन्दा बढी उमेरकी महिला खेलाडी बन्नु भएको छ ।
हालका वर्षमा सीमित सङ्ख्यामा मात्र एकल खेल खेलेकी भेनस विलियम्सले सन् २०२१ पछि पहिलो पटक मेलबर्न पार्कमा आयोजना हुने मुख्य ड्रमा प्रतिस्पर्धा गर्नु हुने छ । लामो समयपछि पुनः ग्रान्डस्लाम कोर्टमा फर्किन पाउँदा आफू निकै उत्साहित रहेको उहाँले बताउनु भएको छ ।
“म फेरि अस्ट्रेलिया फर्किन पाउँदा अत्यन्तै खुसी छु र अस्ट्रेलियाको गर्मीमा प्रतिस्पर्धा गर्न आतुर छु”, उहाँले भन्नुभयो, “त्यहाँ मेरा धेरै अविश्वसनीय सम्झना छन् र मेरो करियरका लागि निकै अर्थ राख्ने स्थानमा फेरि खेल्ने अवसर पाएकोमा म आभारी छु ।” भेनस विलियम्स पाँच पटककी विम्बल्डन च्याम्पियन तथा दुई पटककी युएस ओपन विजेता हुनुहुन्छ ।
अस्ट्रेलियन ओपनमा उहाँ सन् २००३ र २०१७ मा एकल फाइनलसम्म पुग्नुभएको थियो, यद्यपि उपाधि जित्न भने सक्नु भएको थिएन । उहाँ सन् २०१५ मा पहिलो चरणमै बाहिरिएपछि ४४ वर्षको उमेरमा प्रतिस्पर्धा गरेकी जापानकी किमिको डेटपछि अस्ट्रेलियन ओपन खेल्ने सबैभन्दा बढी उमेरकी महिला खेलाडी बन्नु हुने छ ।
यो उपलब्धिले भेनसको लामो र प्रेरणादायी करियरलाई अझ ऐतिहासिक बनाएको छ । चार पटककी अस्ट्रेलियन ओपन डबल्स च्याम्पियन भेनस विलियम्सले १६ महिनाको विश्रामपछि गत वर्ष युएस ओपनमार्फत प्रतिस्पर्धात्मक टेनिसमा पुनरागमन गर्नु भएको थियो । उहाँले आगामी जनवरी १८ देखि फेब्रुअरी १ सम्म हुने अकल्यान्ड क्लासिकमार्फत अस्ट्रेलियन ओपनको तयारी सुरु गर्नु हुने छ ।
त्यसपछि उहाँ मेलबर्न जानुअघि होबार्ट इन्टरनेसनल प्रतियोगितामा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ । यसैबिच, दुई पटककी ग्रान्डस्लाम विजेता तथा साथी अमेरिकी खेलाडी कोको गाउफले भेनस विलियम्स अझै पनि शीर्षस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउनु ‘अविश्वसनीय’ रहेको प्रतिक्रिया दिनु भएको छ । “उहाँ टेनिस खेलकी एक साँचो किंवदन्ती हुनुहुन्छ”, गाउफले भन्नुभयो, “उहाँलाई फेरि कोर्टमा देख्न पाउनु अत्यन्तै राम्रो कुरा हो । उहाँको करियरको दीर्घायु साँच्चै प्रेरणादायी छ र म उहाँलाई पुनः खेलेको हेर्न आतुर छु ।”रासस/एएफपी