• १८ पुस २०८२, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

blog

बैठकमा सहभागी कांग्रेस नेता । तस्बिरः कविन अधिकारी

काठमाडौँ, पुस १८ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। 

शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो। महाधिवेशनसम्बन्धी जारी विवादका बीच यो बैठक महत्त्वपूर्ण मानिएको छ। 

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गर्नुभएको थियो। उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ। 

यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो। बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए। संस्थापन पक्षले महामन्त्रीको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ भने विशेष महाधिवेशन पक्षधरले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरेका छन्। 

बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। पार्टीभित्रको यो विवादले आगामी निर्वाचनअघि कांग्रेसको नेतृत्व र रणनीतिमा प्रभाव पार्ने देखिन्छ।