• १८ पुस २०८२, शुक्रबार

पर्यटन प्रवर्धनका लागि नीति निर्माणमा जुट्दै धनकुटा नगरपालिका

blog

पर्यटन नीति निर्माणका लागि सरोकारवालासँग छलफल गर्दै नगरपालिका ।

कविराज घिमिरे 

हिले, पुस १८ गते । धनकुटा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पर्यटन नीति निर्माण गर्न पहल सुरुको छ । 

धनकुटा नगरपालिकाले नगरका सरोकारवालासँग राय सुझाव लिई पर्यटन नीति निर्माण गर्ने कामको थालनी गरेको हो । नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीका अनुसार पर्यटन नीतिका लागि विभिन्न ६ वटा शीर्षकमा छलफल गरिएको छ । 

अन्तरक्रिया कार्यक्रममा होमस्टे तथा सामूदायिक पर्यटन, होटल रेष्टुरेन्ट तथा आतिथ्य सत्कार, पदमार्ग गाइड तथा साहसिक पर्यटन, पर्यटन पूर्वाधार र पहुँच, पर्यटन प्रवर्धन र ब्रान्डिङ तथा क्रस कटिङ इस्यु लगायतका विषयमा सम्बन्धित पक्षको समूह बनाएर सुझाव मागिएको जनाइएको छ । 

कार्यक्रममा सहभागीले धनकुटा नगरको पहिचान बनेको एभोकाडाे र आठपहरिया जातिको संस्कृतिलाई ब्रान्डिङ गर्नुपर्ने त्यस्तै पर्यटन नीति तथा निर्देशिका निर्माण गर्दा धनकुटामा रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक ठाउँहरु भुल्न नहुने सुझाव दिएका थिए । सहभागीले पर्यटन नीति नबनाउदा पर्यटन प्रवर्धनमा समस्या भएकाले चाडो पर्यटन नीति निर्माण गर्न सुझाव दिएका थिए । 

राणाकालमा गौँडाको रुपमा रहेको धनकुटाको विभिन्न विषय समेटर ब्राण्डिङ गर्दै पर्यटन नीति बनाउनुपर्ने सहभागीको सुझाव थियो ।