• १८ पुस २०८२, शुक्रबार

वनभोजमा मारुनी र कौरा जगेर्नाको जमर्को

blog

बोमलाल गिरी

नवलपुर, पुस १८ गते । पुस, वनभोजको महिना । अत्यधिक चिसो छ । चौरमा भएका चालिसभन्दा बढी स्टलहरु खचाखच भरिएका छन् । कोही स्टल नपाएर खुला चौरमै आगो तापिरहेका छन् त कोही ठूलो आवाजमा डेक बजाएर नाचिरहेका छन् । कोही भने मदिरामा झुमिरहेका छन् । 

नवलपुरको कावासोती नगरपालिका–१ को पर्यटकीय क्षेत्र पोखरी तालमा शनिवार एउटा फरक दृष्यले धेरैको मन तानिरहेको थियो । गैँडाकोट–१४ नगरटाँडीबाट आएको १५–२० जनाको, आफ्नै जातीय पहिरनमा रहेको एउटा युवा जमात जो आफ्नो सांस्कृतिक परम्परा जोगाउन लागिपरिरहेको छ । 

यो समूह साउण्ड सिस्टमको कोलाहलबाट अलि टाढा एकान्तमा बसेको छ । कसैले खैँजडी, डम्फु, मादल बजाइरहेका छन् त कसैले तालिले लयमा ताल मिलाएर मारुनी गीत गाइरहेका छन् । अनि मारुनीको तालमा झुम परेर नाँचिरहेकी छिन् अमर सेकेन्डरी बोडिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीया बालिका साहारा मगर । उनको नृत्यले यस्तो लय र ताल समातेको छ कि लाग्छ उनी तालिम प्राप्त नृत्यङ्गाना हुन् । 

साहाराकी आमा तारा थापा मगरका अनुसार साहाराले कतैबाट नृत्यसम्बन्धी तालिम भने लिएकी छैनन् ।  ‘‘यति सानो उमेरमा पनि आफ्नो समुदायको कला संस्कृतिप्रतिको लगाव देख्दा खुशी लाग्छ,’’ ताराले भन्नुभयो, ‘‘उनी विद्यालयमा पनि यस्ता कार्यक्रममा भाग लिन्छिन्, एक पटक देखेको कुरा फेरि सिकाउन पर्दैन, छिट्टै सिक्ने बानी छ ।’’

वनभोजमा गएको बेला ठूलो आवाजमा हिन्दी, फिल्मी तथा पप र  र्‍यापमा झुम्ने पुस्ताका लागि यो एउटा आफ्नै कला संस्कृति संरक्षण गर्ने प्रयास गरिएको बताउनुहुन्छ खैँजडी बजाउँदै गर्नुभएका २५ वर्षीय रमेश दर्लामी । 

युवापुस्ताले चासो नदिँदा परापूर्वकालदेखि चल्दै आएको मारुनी, कौरा नाच सङ्कटमा पर्न थालेको गुनासो बढ्न थालेपछि मगर समुदायका युवा यसको संरक्षणमा जुटेका छन्। 

युवापुस्ता अध्ययन तथा रोजगारीका लागि कतिपय गाउँबाहिर र कोही देशबाहिर जाने क्रम बढेपछि पाका पुस्ताको काँधमा पुगेको जिम्मेवारलिाई गाउँमा उपलब्ध युवाले जिममेवारी वहन गर्ने प्रयास गरेको भनाइ छ अर्का वाद्यवादक टङ्क दर्लामीको ।