काठमाडौँ, पुस १७ गते । बेल्कोटगढी नगरपालिका, नुवाकोटको आयोजनामा १०औँ झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते हुने भएको छ ।
बेल्कोटगढी नगरपालिका वडा ५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा हुने प्रतियोगितामा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
खुला पुरुष/महिला, पुरुष भेट्रान र स्थानिय पुरुषमा १३.४ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ । यस स्पर्धामका विजेता, उपविजेता र तेस्रो हुनेले उपाधिसहित क्रमश: २५, १५ र १० हजार रुपियाँ पुरस्कार पाउने छन् ।
यस्तै स्थानीको यु–१८ र यु–१६ छात्र/छात्रा तथा आमा/बुवा समूहको ४.५ किलोमिटर दूरीको हरेक स्पर्धामा शीर्ष तीन स्थानमा रहनेले क्रमश: १८, १२ र ८ हजार रुपियाँ पुरस्कार पाउने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बेल्कोटगढी नगरपालिका प्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनु भयो ।
दौड कोल्पुटारबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुन: कोल्पुटारमै आएर सकिने वडा ५ का अध्यक्ष मदन भुजेलले बताउनु भयो । दौडमा राष्ट्रिय स्तरका चर्चित खेलाडीको समेत सहभागिता रहने छ ।
दौडका निर्देशक राजन खत्रीले झिल्टुङ दौड नेपालको कठिन दौड मध्येको एक भएको बताउनु भयो । दौडमा करिब पाँच सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।