• १७ पुस २०८२, बिहिबार

दोस्रो पावर तेक्वान्दोको तयारी पूरा

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, पुस १७ गते । अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो सङ्घसँगको सहकार्यमा दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने भएको छ ।

कलंकीस्थित अम्रेला इभेन्ट्समा आयोजना हुने प्रतियोगिातको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । खेलाडीको वृत्ति विकासमा योगदान पुर्‍याउनुका साथै खेलाडीबिच मित्रता र भाइचारा स्थापित गर्न च्याम्पियनसिप आयोजना गरिएको आयोजक समितिका सचिव नोर्बु लामाले जानकारी दिनुभयो ।

प्रतियोगितामा जम्मा दुई तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा आठ पुरुष र आठ महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा सुमित विष्ट, सुजन गुरुङ, हरिश बोहरा, रुमिन राउत, एलेन आले, अभिषेक डल्लाकोटी, अबताब आलम र अम्बिका घिमिरेले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै महिलामा आरती शाही, इशा महतो, रक्षा धिमाल, गीता कठायत, जानुका बिक, कञ्चन खड्का, वीणा नाथ र पासाङ लामाबिच प्रतिस्पर्धा हुनेछ ।सबै खेलाडी हालै सम्पन्न १३औँ कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता खेलाडी हुन् ।

च्याम्पियनसिपमा सञ्जीवकुमार ओझा, सुरेन्द्र शाही, लालबहादुर बरामु र वीरबहादुर महराले प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ । च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय रेफ्रीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । 

प्रतियोगितामा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।