काठमाडौं, पुस १७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न निर्वाचनको तयारीमा लागिसकेको बताउनुभएको छ।
बिहीबार अध्यागमन विभागद्वारा काठमाडौंमा आयोजित विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री अर्यालले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्य आज शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशेढुङ्गा साबित हुने मन्त्री अर्यालले विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार यस प्रणालीले अध्यागमन कानुनबमोजिम विदेशी नागरिकको आवतजावत, व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न, उनीहरूको नेपाल बसाइका क्रममा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र अपराधको अनुसन्धान प्रभावकारी बनाउन र विश्व स्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने विश्वास लिएको बताउनुभयो।