नवीनराज कुइँकेल
लमजुङ, पुस १७ गते । लमजुङ सदरमुकाम बेँसीसहरमा विहिबार १३ औं टोपी दिवस मनाइएको छ । विभिन्न संस्थाको आयोजनामा राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको हो ।
‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ १३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । १३ वर्षदेखि जनवरी १ का दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो ।
यस अवसरमा रोटरी क्लब अफ लमजुङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय लमजुङ, लमजुङ उद्योग बाणिज्य संघ, रोट्रयाक्ट क्लब, लायन्स क्लब अफ लमजुङ, जन्मदिनमा वृक्षरोपण अभियान, आमा समूहलगायतका संस्थाहरुको सहयोगमा ढाका टोपी लगाएर विहिबार बेंसीसहर बजारमा र्याली निकालिएको थियो । सहभागीले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।
पश्चिमा संस्कृतिको प्रभाव परिरहेका बेला नेपाली पहिचान जोगाउन टोपी दिवस सान्दर्भिक रहेको बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक रहेको उहाँले बताउनुभयो ।
नेपालीको पहिचान बोकेको ढाका टोपीको देश तथा विदेशमा समेत धेरै महत्व रहेकाले बर्षै साल टोपी दिवस मनाउन गरिएको रोटरी क्लब अफ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछानेले बताउनुभयो । विदेशी संस्कृतिको प्रभाव परिरहेका बेला नेपालीको पहिचान जोगाउन सरकारीतर्फबाट नै टोपी दिवसलाइ विशेष महत्व दिनुपर्ने लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनुभयो।
संस्कृतविद्का अनुसार जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी बनाउनका लागि पहिलो पटक टोपी बनाएर उपहार दिनुभएको थियो । नेपालबाहिर रहेका नेपाली र नेपालीभाषीले पनि नेपाली टोपी लगाउँदै आएका छन् ।
नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा प्रयोग गर्दै आएका छन् । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउन टोपी दिवसको सान्दर्भिकता रहेको जनजाती महासङ्घ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।