गोविन्द शर्मा
बाँके, पुस १७ गते । लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा र जानकी गाउँपालिकाको हजारौं बासिन्दालाई आवागमनमा सहजता भएको छ ।
पुल निर्माणको काम सम्पन्न भएपछि खजुरा गाउँपालिका–४, ई गाउँ, चल्तुवा, पार्वतीपुर, जानकी गाउँपालिका वडा ४ छत्ररपुर, लाइनपुर, गिजरा लगायतका दर्जनौं गाउँका हजारौं बासिन्दालाई सहजता भएको खजुरा-४, ई गाउँका वीरबहादुर बिसीले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दा बिसीले भन्नुभयो, “किरण नालामा पक्की पुल निर्माण सम्पन्न भएपछि कोहलपुर र नेपालगन्ज पुग्न समेत सहज भएको छ, वर्षायाममा पारीगाउँ जानका लागि ५–७ किलोमिटर टाढा जानुपर्ने बाध्यता हटेको छ ।”
यो पुल निर्माण कम्पनीको ढिलाइ र पुल निर्माणमा प्राविधिक समस्या आएपछि सम्झौताभन्दा ढिलो गरी निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि गाल्वा सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपियाँमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।
सम्झौताको समयअवधीसम्म जगको विवादका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो । पुलको जगको गुणस्तरमा आशङ्का गरिएकोमा गतवर्ष विज्ञ टोलीबाट परीक्षण गरी निर्माण कार्य अघि बढाइएको हो । लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारले पुल निर्माण कार्यलाई प्राथमिकता दिएको बताउनु भयो ।
केही स्थानमा निर्माण व्यवसायीले ढिलाइ गरिरहेको भन्दै उहाँले सम्बद्ध कार्यालय मार्फत निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताउनु भयो । किरण नालामा पुल निर्माण भए पनि दायाबायाँ पहुँच सडक निर्माण गरिनु पर्ने भन्दै उहाँले त्यसका लागि पहल भइरहेको जानकारी दिनु भयो ।