• १७ पुस २०८२, बिहिबार

उपन्यासकार श्रेष्ठको उपन्यास 'करिस्मा'को विमोचन

blog

श्रेष्ठको उपन्यास करिस्माको विमोचन गर्दै वरिष्ठ साहित्यकारहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस १७ गते । सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्ज बाँकेको आयोजनामा आयोजित कार्यक्रममा उपन्यासकार विष्णुमान श्रेष्ठको उपन्यास “करिस्मा” को विमोचन गरिएको छ । 

लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोगका सदस्य प्रा. डा. कृष्णप्रसाद घिमिरे तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले “करिस्मा” उपन्यासको विमोचन गर्नुभयो ।

सिर्जना कला साहित्य प्रतिष्ठानका अध्यक्ष शशिराम कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. कृष्णप्रसाद घिमिरेले करिस्मा सरल भाषामा लेखिएको नेपालगन्जको सुगन्ध बोकेको उपन्यास रहेको बताउनुभयो । 

प्राज्ञ महानन्द ढकालले करिस्मा उपन्यासले जातीय विभेद, वर्गीय विभेद र लैङ्गकि विभेदलाई कडा रुपमा उठाएको बताउँदै विष्णुमानले आफूले पूरा गरेको जीवनको असी दशकको अनुभव र अनुभूतिसमेत उपन्यासमा समेटिएको बताउनुभयो ।

वामपन्थी लेखक नरेन्द्रजङ पिटरले विष्णुमान जस्ता परिपक्व व्यक्तिबाट लेखिएका सिर्जनाहरू समाजका अमूल्य निधि रहेको बताउनुभयो । उपन्यासका लेखक श्रेष्ठले मन्तव्य राख्दै करिस्मा उपन्यास कोरा कल्पना नभएर आफैले देखेको, सुनेको र अनुभूति गरेको कथा भएको बताउनुभयो । 

कृतिको समीक्षात्मक टिप्पणी गर्दै समीक्षकहरू विष्णुपादुका तथा डा. खोपिराम ओली क्षेत्रीले करिस्माका कथा रोचक भएको र करिस्माले पुरानो गगनगन्जबारे जानकारी गराएको बताउनुभयो । सो अवसरमा खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरि कोपिला,  शाश्वत स्मृति प्रतिष्ठाका अध्यक्ष प्रा.डा. जनार्दन आचार्य, अवधी साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुम्हाल, डा.राजकुमार थारु, कल्पना पौडेल, मणि अर्याल, बिपी अस्तु, निरन्जना चन्द निरूलगायतका साहित्यकारहरुले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।