• १७ पुस २०८२, बिहिबार

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

blog

कञ्चनपुर,  पुस १७ गते ।   शुक्लाफाँटा नगरपालिका-६, करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीन वटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।

शुक्लाफाँटा-६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत ८० लाख लागतमा १५० मिटर, सङ्घीय आयोजनाअन्तर्गत पाँच लाख लागतमा २५ मिटर र प्रदेश सरकारको आयोजनाअन्तर्गत १५ लाख लागतमा ५० मिटर तटबन्ध निर्माण भइरहेको छ । 

टोटी नालामा १० लाखभन्दा बढीको लागतमा करिब ४० मिटर तटबन्ध निर्माणको तयारी गरिएको उहाँले जानकारी दिनु भयो । वडाध्यक्ष ऐरले वर्षाका बेला तीव्र भू(क्षय हुँदै आएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तटबन्ध निर्माण अघि बढाइएको बताउँदै दोस्रो प्राथमिकतामा सार्वजनिक जग्गा तथा बगर संरक्षण क्षेत्रलाई समेटिएको उल्लेख गर्नुभयो ।

स्थानीय बन्दा रानाले स्याली नदीले बर्सेनि वर्षातका बेला जग्गा कटान गर्दा ठुलो समस्या भोग्नु परेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । भू-क्षयको समस्या वडा कार्यालयमा राखेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण हुन थालेको उहाँको भनाइ छ ।

स्याली नदीमा निर्माण भइरहेका तटबन्ध आयोजनाले सार्वजनिक सडक जोगिनुका साथै दुई सयभन्दा बढी स्थानीयको जग्गा भूक्षयबाट सुरक्षित हुने अपेक्षा गरिएको छ ।  रासस