साधन घर्ती
म्याग्दी (दरबाङ), पुस १७ गते । गुर्जालाई चिनाउने एउटा उखान निकै चर्चित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ सम्म परेको भूगोल, परम्परागत शैलीमा बनेका सुन्दर घरहरु मिलेर बनेको बस्ती र गाउँले जीवनशैली ।
म्याग्दी सदरमुकाम बेनीबाट करिब २६ कोस टाढा रहेको धवलागिरी गाउँपालिका-१, गूर्जा गाउँ । गुर्जा र चुरेन हिमालको फेदीमा पहाडै पहाडको बीचमा रहेको गाउँमा २ सय ८ घरधुरी छन् । छन्त्याल समुदायको बाहुल्य रहेको गुर्जामा दलित जातिको समेत बसोबास छ ।
कृषि र पशुपालनमा आकर्षित गुर्जा गाउँबाट सबैभन्दा नजिक करिब ७ घण्टाको पैदल यात्रापछि गुर्जा हिमालको बेसक्याम्प पुग्न सकिन्छ । आधा दशक अगाडि छिमेकी लुलाङ गाउँबाट दिनभरि यात्रा गरेपछि गुर्जा पुगिनेमा अहिले सडक सञ्जालले वडालाई छोएपछि करिब डेढ घण्टाको पैदल यात्रापछि गुर्जा गाउँ पुग्न सकिन्छ ।

गुर्जा क्षेत्रमा ढोरपाटन सिकार आरक्षको अनुमति लिएर सिकार गर्ने दुई वटा ब्लक छ । म्याग्दीमा आरक्ष क्षेत्रको करिब ४० प्रतिशत भूभाग फैलिएको छ । यहाँ तामाखानी छ, भीरपहरामा भिरमह काट्ने शिकारी पुग्छन् । वनजङ्गलमा रातो च्याउ पाइन्छ ।
बहुमूल्य धातुमा प्रयोग हुने ढुङ्गा, यार्सागुम्बा हितको जडीबुटी प्रशस्तै पाइन्छ । प्राकृतिक सुन्दरता, हिमालको काखमा अवस्थित गुर्जा आसपासका क्षेत्रमा सङ्कटापन्न रेडपाण्डा, जङ्गली जनावरहरु चितुवा, भालु, नाउर, घोरल, डाँफे, मुनाललगायतका पन्छीहरुको वासस्थान छ । यहाँ सिद्ध बराह र बराहथान मन्दिरमा वर्षेनी पूजा हुन्छ ।