• १७ पुस २०८२, बिहिबार

जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्रको फारम निःशुल्क भर्न सुरु

blog

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र भर्दै सेवाग्राही । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, पुस १७ गते ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालयमै राष्ट्रिय परिचयपत्रको फाराम निःशुल्क भर्ने व्यवस्था सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार सेवा सुधारको प्राथमिकतामा राष्ट्रिय परिचयपत्रको फारम निःशुल्क भर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ‘विशेषगरी आर्थिक अभाव भएका लक्षित वर्गका नागरिकले सेवा लिन आउँदा डर वा आर्थिक बोझ महसुस गर्न नपरोस्’ भन्ने हाम्रो उद्देश्य हो । बाहिर बजार फारम चर्को शुल्क तिर्ने नागरिकको समस्या हटाएइएको प्रशासनले जनाएको छ ।

आइतबार कार्यालयभित्रै इन्टरनेट, डेस्कटप र कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरेर सोमबारदेखि निःशुल्क फाराम भर्ने सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । उहाँका अनुसार बिहान १० देखि साँझ ६ बजेसम्म सेवा उपलब्ध छ । आफैँ अनलाइन फाराम भरेर ल्याउनेलाई पनि सहज बनाइनेछ, तर फाराम नबुझेकै कारण कसैलाई फर्काइने छैन, भन्ने प्रशासनले जानकारी दिएको छ ।

यस अगाडि जिल्ला प्रशासनबाहिरका पसलमा अनलाइन फारम प्रतिव्यक्ति फारम दुई सय शुल्क लिने गरिएको थियो । विपन्न नागरिकले समेत परिचयपत्र भर्नका लागि शुल्क तिनुपर्ने भन्दै व्यापक गुनासो बढेको थियो । यस्तै परिचयपत्रमा भिड घटाउन माग गरिएको थियो । नागरिकको सोही गुनासो अनुसार जिल्ला प्रशासन कार्यालयभित्रै कर्मचारी खटाएर राष्ट्रिय परिचयपत्र फारम भर्न थालिएको हो ।  

राष्ट्रिय परिचय फाटमा कार्यरत कर्मचारी कृष्णमाया भण्डारीका अनुसार दैनिक ५० देखि ६० जना सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि कार्यालय पुग्ने गरेका छन् । बैंक खाता खोल्न, पासपोर्ट बनाउन र ज्येष्ठ नागरिक भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि सेवाग्राहीको चाप बढ्नु स्वाभाविक हो ।  विद्युत् अवरुद्ध हुँदा पनि नागरिकताको फोटोकपी, नयाँ नागरिकता बनाउनेलगायतका सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

यहाँ नयाँ नागरिकता बनाउन आउने सेवाग्राहीलाई समेत राष्ट्रिय परिचयपत्र फाराम भर्न सहजीकरण गरिनेछ । नागरिकता र विवाह दर्ता प्रमाणपत्र मात्रै लिएर आए पुग्ने व्यवस्था गरिएको छ । कागजपत्र अपुग भएका निमुखा सेवाग्राहीका हकमा सम्बन्धित निकायसँग फोनमार्फत समन्वय गरेर कागजात जुटाइदिने अभ्यास सुरु गरिएको छ । भित्रै फारम भरेर परिचयपत्रका लागि काम सुरु भएपछि सेवाग्राही खुशी भएका छन् । पहिला वाहिर शुल्क लिएर फारम भर्ने भन्थे तर अहिले कार्यालयमै फारम भरेको खुशी व्यक्त गर्नुभयो । सिंजा गाउँपालिका ६ निवासी सृजना बुढाले पनि फारम निशुल्क भरेको जानकारी दिनुभयो ।