सहदेव बस्नेत
जाजरकोट, पुस ४ गते । जाजरकोटमा एक महिनामा १४ मुद्दा दर्ता, ७ सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार पछिल्लो एक महिनामा जिल्लामा १४ वटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जघन्य एक, गम्भीर पाँच र सामान्य आठ मुद्दा दर्ता भएको जानकारी दिनुभयो । चालु मुद्दामा सात जना प्रतिवादी पक्राउ पर्नुका साथै सार्वजनिक चासोका मुद्दामा सफल अनुसन्धान भएको निरीक्षक खड्काले जानकारी दिनुभयो ।
त्यस्तै, अवैध हातहतियारतर्फ एक थान एयरगन बरामद गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ उजुरी नपरेको जनाइएको छ । घरेलु हिंसाका दुई वटा उजुरीमध्ये दुवै मिलापत्र मार्फत समाधान गरिएको छ ।
यस अवधिमा सात वटा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् । दुर्घटनाको प्रमुख कारण क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउनु रहेको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा एक सय आठ सवारी कारबाही गरी १३ लाख ५० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको जानकारी गराएको छ ।
विपद्, अवैध मदिरा, लागुऔषध, प्राकृतिक सम्पदा दोहन तथा आत्महत्याका घटना भने नभएको प्रहरीले जनाएको छ ।
शान्ति सुरक्षाका लागि नियमित तथा विशेष गरी दुई सय ६५ वटा प्रहरी ड्युटी परिचालन गरिएको थियो। समुदाय–विद्यालय केन्द्रित ४० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन् भने एक सय ७० जनाको सहभागिता रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीर कुमार खड्काले अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिक सेवामा प्रहरी सक्रिय रहेको जानकारी दिएका छन् ।