दाङ समाचारदाता
दाङ, पुस ४ गते । दाङको लमहीमा निर्माण भइरहेको ट्रमा सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वपश्चिम राजमार्गछेउमै बन्न लागेको उक्त सेन्टर राप्ती उपत्यका तथा दाङ देउखुरी क्षेत्रमा हुने सडक दुर्घटनाका घाइतेको उपचार सहज बनाउने उद्देश्यसहित निर्माण गर्न थालिएको हो ।
सेन्टर निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको निर्माण ठेकेदार संस्था लामा एन्ड गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालिका इन्जिनियर अरुणकुमार शाहले जानकारी दिनुभयो । भ्याटसहित २३ करोड रुपियाँमा निर्माणका लागि सम्झौता भएको यो परियोजना लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अघि बढाइएको छ ।
२०७७ फागुन २८ गते ठेक्का सम्झौता भएको यस परियोजना २०८० असार २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो तर निर्माण क्रममा विविध कारणले ढिलाइ भएपछि २०८२ असार २३ सम्म म्याद थप गरिएको उहाँले बताउनुभयो ।
एक बिघा दुई कट्ठामा फैलिएको ट्रमा सेन्टर ५० शय्याको सुविधासम्पन्न भवन बन्दै छ । सेन्टरको मुख्य भवनसँगै स्टाफ क्वाटर, डाक्टर क्वाटर र क्यान्टिनसहित चार वटा भवन, शौचालय निर्माणाधीन छन् । अहिले यी सबै भवनमा फिनिसिङ, रङरोगन, झ्यालढोका जडानलगायतका काम भइरहेको छ । शाहले भन्नुभयो, “पैसा रोकिएन भने यही चालु आर्थिक वर्षको असारभित्रै सबै निर्माण सक्ने छौँ ।”
सहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद देवकोटाले पनि चालु आवभित्रै निर्माण सकिएर लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताउनुभयो । देवकोटाले भनुभयो, “निर्माणको म्याद चैतसम्म भए पनि त्यस अवधिमा सकिने अवस्था छैन, त्यसैले केही समय थपेर आवभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।”