सुलीकोट समाचारदाता
सुलीकोट (गोरखा), पुस ४ गते । गोरखा सदरमुकामनजिकै रहेको गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर विद्यालको प्रवेशद्वारअगाडिको सडक अत्यन्तै दयनीय अवस्थामा पुगेको छ । गोरखा सदरमुकामबाट प्रसिद्ध गोरखकाली मन्दिर, भीमसेन पार्क, नारेश्वर, बेनीखोला, सिरानचोक, अजिरकोट, भीमसेन थापा गाउँपालिका र आरूघाट गाउँपालिका जाने मुख्य सडक खाल्टाखुल्टीले भरिएको छ । एक वर्ष बितिसक्दासमेत सडक मर्मत नहुनु गोरखावासीका लागि चिन्ताको विषय बनेको छ ।
यो सडक स्थानीयको आवागमनका लागि मात्र नभई धार्मिक, पर्यटकीय र प्रशासनिक दृष्टिले समेत अत्यन्तै महìवपूर्ण रहेको स्थानीय भक्तराम रानामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक सयौँ सवारीसाधन एम्बुलेन्स, विद्यार्थी बोकेका सवारी, तीर्थयात्री तथा सर्वसाधारण हिँड्ने सडकको मर्मत हुन नसक्नु दुःखको कुरा हो ।”
दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने उक्त सडकमा साना खाल्टाखुल्टी मात्र होइन फलामका लामा लामा रड पनि भएकाले सवारीसाधन क्षतिग्रस्त हुनुका साथै दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । उक्त सडकनजिक रहेका स्थानीयवासीले यो सडकको मर्मत गर्ने जिम्मा कसको हो ? भनी प्रश्न गर्न थालेका छन् ।
सडक डिभिजन कार्यालयको हो कि गोरखा नगरपालिकाको हो वा प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय गोरखाको वा सङ्घीय सरकारको जिम्मेवारी हो त्यो स्पष्ट नहुँदा जनताले दुःख पाएको स्थानीयको गुनासो छ ।
जनप्रतिनिधिले चुनावका बेला यही सडक देखाएर भोट माग्ने तर जितेपछि सङ्घीय सांसद, प्रदेश सांसद वा नगरपालिकाका प्रमुखले बेवास्ता गर्ने प्रवृत्तिले जनआक्रोश बढ्दै गएको स्थानीय युवा अशोक रानामगरले बताउनुभयो । गोरखा सदरमुकामको महत्वपूर्ण सडक लामो समयसम्म नबाउनु र सम्बन्धित निकाय जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढेकाले आगामी निर्वाचनमा यसको जवाफ दिनुपर्ने स्थानीयको भनाइ छ । सवारीसाधनको चापले सडक जीर्ण बन्दै जाँदा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे भएकाले सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको रानामगरले बताउनुभयो ।
गोरखा जस्तो ऐतिहासिक, धार्मिक र प्रशासनिक केन्द्रको मुख्य सडक यसरी उपेक्षित हुनु लाजमर्दो विषय भएकाले पनि सम्बन्धित निकायले तत्काल स्थलगत अनुगमन गरी सडक मर्मतको काम अघि बढाउनुपर्ने स्थानीयको माग छ ।
गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले उक्त सडक सङ्घीय र प्रदेश सरकारको बजेटबाट मर्मतसम्भार गर्नुपर्नेमा केही ढिलाइ भएको भन्दै सडक मर्मत र सम्भारका लागि गोरखा नगरपालिका र सडक बोर्ड नेपालको साझेदारीमा यही आर्थिक वर्षमा मर्मत गर्ने निर्णय नगर कार्यपालिकाको बैठकबाट भइसकेको बताउनुभयो । यही वर्षको चैतभित्र सडक मर्मत सम्पन्न हुने उहाँको दाबी छ ।