चितवन समाचारदाता
चितवन, पुस ४ गते । सौराहामा बाघ गणनासम्बन्धी दुईदिने तालिम लिएपछि १५० जना गणक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम खण्डमा खटिएका छन् । मङ्गलबार र बुधबार तालिम लिएका गणक तथा प्राविधिकको टोलीले पर्सा र चितवन राष्ट्रिय निकुञ्जको १३ स्थानबाट एकै पटक गणना सुरु गरेको हो ।
आवश्यक उपकरणसहित सबै जना एकै पटक गणनाको कार्यमा लागेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिनुभयो । निकुञ्जका अनुसार पश्चिम क्षेत्रको त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरन्डाभार क्षेत्रमा गणकले काम गर्ने छन् । पहिलो भाग अन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिने तयारी रहेको प्रमुख पन्तले बताउनुभयो ।
निकुञ्जको पश्चिम, मध्य, पूर्व, दक्षिण, मध्यवर्ती क्षेत्र, राष्ट्रिय वनलगायतका क्षेत्रमा गणना गर्न ग्रिड निर्माण गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामरा राखिने तयारी छ । विभिन्न स्थानमा ग्रिड निर्माण गरी क्यामरा राख्ने र त्यसपछि अन्यत्र सार्दै लैजाने गरिएको उहाँले बताउनुभयो ।
एउटा क्षेत्रमा दुई साता क्यामरा राखी बाघ गणना गरिने छ । चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । दुई वर्गकिलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ ।
टोलीले बाघ पाइने प्रमुख स्थान बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गर्ने छ । तीन महिनाभित्र गणना सक्ने तयारी भएको उहाँले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएको सूचना अधिकारी थापामगरले बताउनुभयो ।
गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामरा राखिने छ । ती क्यामराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या निर्धारण गरिने सूचना अधिकारी थापामगरले बताउनुभयो ।
सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको पाइएको थियो । उक्त गणनामा चितवनमा १२८, बर्दियामा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए । बाघ गणना भएपछि गैँडा गणना गर्ने तयारी गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।