हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस ४ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५का अधिकांस घरका मूल ढोकामा ताल्चा झुन्डिएको छ । गाउँपालिकाको प्रमुख लोमान्थाङ बजारमा रहेका होटल, पसल तथा स्थानीयले कठ्याङ्ग्रिदो चिसोसँगै विस्तारै बस्ती छोडेर बेँसी झर्न थालेपछि बस्ती सुनसान बन्दै गएको हो ।
दैनिक पर्यटकको चहलपहल हुने लोमान्थाङ बजारका साथै कोरला नाका, मुस्ताङ भन्सार कार्यालय रहेको छोसेरसहित छोण्हुप, घमी, सुर्खाङ र चराङसहित अन्य बस्तीमा घर कुरुवा, वृद्धवृद्धा केही सर्वसाधारण बाहेक चिसो छल्न मङ्सिर महिनाको अन्त्यदेखि निस्कन थालेपछि बस्तीमा स्थानीयको सङ्ख्या पातलिएको छ ।
विगतका वर्षमा कात्तिक महिनामै सुनसान हुने उपल्लो मुस्ताङ यस वर्ष व्यवसायिक रुपमा कोरला नाका सञ्चालनमा आएपछि मङ्सिर महिनासम्म चहलपहल रहेपनि पुस महिनालागेपछि बस्तीमा चहलपहल कम रहेको अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय मुस्ताङका प्रमुख उमेश पौडेलले बताउनुभयो ।
प्रमुख पौडेलले भन्नुभयो, ‘‘बस्तीमा स्थानीयको सङ्ख्या घट्दै छ, धेरैजसोले घरमा नै ताल्चा लगाएर जानुभएको छ, सबै गाउँ फर्किन चैत्र महिना कुर्नुपर्छ ।’’ बेंसी झरेका मुस्ताङीले घर तथा होटलमा कुरुवा राख्ने गर्दछन् ।
यसैगरी, चरन क्षेत्रमा रहेका पशुचौपाया, भेडीगोठहरु समेत घरको छेउछाउमा सारेर गोठालालाई जिम्मा लगाउने गरिन्छ । चिसोमा चरन क्षेत्रमा हिउँ जमेपछि आहारा र शिकार प्रजातिका बन्यजन्तु समेत बस्ती नजिकै आउने जोखिमलाई मध्यनजर गरी एक्यापसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बस्ती क्षेत्रमा समुदायलाई सुरक्षित बनाउन विभिन्न कार्यक्रम तथा स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने गरेको छ । चिसो समयमा गाउँमा स्थानीयसँगै पशुचौपायालाई समेत निकै कष्टकर हुन्छ । खोलानाला, धारामा पानी जम्ने तथा खानेपानी र आहारा व्यवस्थापनमा निकै चुनौति हुन्छ ।उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाबाट ७० प्रतिशतको हाराहारीमा सर्वसाधारणहरु चिसो छल्न बेँसी झरिसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालको भनाइ छ ।
बस्यालले भन्नुभयो, ‘‘घरमा ताल्चा लगाएर गएपछि बस्तीमा गस्तीसहितको गतिविधि बढाएका छौँ, माथिल्लो क्षेत्रका सबै प्रहरी यूनिटको सक्रियता छ ।’’ विगतका वर्षमा कात्तिक महिनामै चिसोबाट जोगिन झर्ने लोमान्थाङ–१ र २ छोसेरका स्थानीय पुस महिनाको पहिलो सातासम्म समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार गरिरहेको भएपनि विस्तारै सङ्ख्या घट्दै जान थालेको लोमान्थाङ गाउँपालिका–२छोसेरका युवा पेमा छिरिङ गुरूङले बताउनुभयो । गुरूङ भन्नुहुन्छ, ‘‘नाकाको ब्यवसायका कारणबेंसी झर्न ढिलाइ भयो, अब सबैजसो ब्यवसाय बन्द गरी सामान लिएर बेच्न जान्छन् ।’’
चिसो छल्न बेँसी झरेका मुस्ताङीहरु नेपालको विभिन्न जिल्लासहित छिमेकी देश भारतसम्म पुगेर घुम्ती व्यापार गर्ने गर्दछन् । विगतमा मुस्ताङमा उत्पादित दैनिक उपभोग्य बिक्री गर्ने गरेकोमा यसपटक चिनियाँ सामानहरु समेत बिक्री गर्न लैजाने गरेको व्यवसायीको भनाइ छ । चिनियाँ सामान बेचेर खर्च चलाउने र फर्किने बेलामा सहरबजारबाट आवश्यक सामान खरिद गरी ल्याउने गरेका छन् । चिसो छल्न बेँसी झरेका मुस्ताङीहरु गर्मीयाम सुरु भएपछि फागुन, चैत महिनामा मात्रै जिल्ला फर्किन्छन् ।
चिसोमा बालबालिकालाई पठनपाठनमा समस्या हुने र विभिन्न रोगको सङ्क्रमण बढ्ने जोखिमलाई मध्यनजर गरी लोमन्थाङ गाउँपालिका–२ छोसेरको दिव्यदीप मावि पोखरा महानगरपालिका–२६ विजयपुरमा रहेको आफ्नै सुविधासम्पन्न भवनबाट पठनपाठन सञ्चानल गरिरहेको छ भने लोमान्थाङ गापासहित लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका विद्यालयहरू समेत पोखरा, तनहुँलगायत विभिन्न स्थानमा आफ्नै भवन तथा भाडामा लिएर कक्षा सञ्चालनमा भइरहेको छ ।
यसैबिच, तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका व्यवसायी, सर्वसाधारण समेत चिसो छल्न बेँसीतिर आउने गरेका छन् । पुसको दोस्रो सातादेखि तल्लो मुस्ताङका विद्यालयलाई समेत जाडो बिदा हुन्छ । मुस्ताङका स्थानीय तहले विकास निर्माणसहितका योजनाहरूलाई समेत जाडो महिनामा स्थगित गरेपनि गाउँपालिकाबाट स्थानीयलाई उपलब्ध गराउने सेवाहरूलाई निरन्तरता दिने गरेको जनाएका छन् ।