• २७ मङ्सिर २०८२, शनिबार

मन्त्री घिसिङद्वारा नारायणी नदीमा बन्न लागेको पुलको निरीक्षण

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर पुलको निरीक्षण गर्नुहुँदै । तस्बिर बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, मङ्सिर २७ गते ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर पुलको निरीक्षण गर्नुभएको छ । शनिबार बिहान उहाँले चितवन र नवलपुर जोड्ने पूर्वपश्चिम राजमार्गमा निर्माण सुरु गरिएको पुलको निरीक्षण गर्नुभएको हो ।

ठेक्का सम्झौता बमोजिम कै समय तालिकामा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणीय रुपमा प्रस्तुत हुने गरी काम अघि बढाउन उहाँले ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।

ठेकेदार तुँदी निर्माण कम्पनीले ३६ महिना अर्थात २०८४ जेठ भित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ । प्राकृतिक प्रकोप नआए यस वर्ष २५ देखि ३० प्रतिशतसम्म फाउण्डेशन र सब–स्ट्रक्चरको काम सकिने कम्पनीले जनाएको छ ।

एक अर्ब ६९ करोड रुपियाँ लागतमा ठेक्का सम्झौता भएको हो । ४२० मिटर लम्बाइ र ११ मिटर चौडाइ हुने अत्याधुनिक प्रविधियुक्त दुई लेनको यो पुलमा आर्चब्रिज, केबल नेटवर्किङ, सस्पेन्सन संरचना र साइकल लेन रहनेछ । साथै पानी जहाज सञ्चालन गर्न मिल्ने गरी दुई ठाउँमा टावर समेत बन्नेछ ।

२०३८ सालमा बनेको हालको पुल जीर्ण बन्दै गएपछि दीर्घकालीन आवश्यकताका लागि नयाँ पुल निर्माण थालिएको हो । पुलको शिलान्यास २०८१ वैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो । निरीक्षणका क्रममा मन्त्री घिसिङले नारायणी तटबन्दको पनि जानकारी लिनुभएको छ ।