• १८ असार २०८१, मङ्गलबार

बढ्न थाले हैजाका बिरामी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २५ गते । काठमाडौँमा  हैजाका बिरामी बढ्न थालेका छन् । अघिल्लो दिन तीन जनामा पुष्टि भएको हैजा शुक्रबार थप चार जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ । 

महाशाखाका प्रमुख डा. चुमनलाल दासले पछिल्ला दिनमा दैनिक रूपमा हैजाका बिरामी पुष्टि हुँदै गएको बताउनुभयो । यसअघि हैजा पुष्टि भएका व्यक्तिलाई १० दिनसम्म अस्पताल भर्ना गरी उपचारपछि डिस्चार्ज गरिएको थियो ।  

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले उपत्यकामा हैजाका बिरामी दिनहुँ देखिँदै जानु भनेको परीक्षण नगराएका अरू व्यक्तिलाई पनि हैजा हुनसक्ने बताउनुभयो । उहाँले हैजाका बिरामी बढ्दै जाने हो भने नियन्त्रण गर्न कठिन हुने भन्दै व्यक्ति आफैँ र सरकारले हैजा नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।