• २३ मङ्सिर २०८२, मङ्गलबार

किसानले पाए चार अर्ब भुक्तानी

blog

  • डिडिसीबाट एक अर्ब र निजी डेरीबाट करिब तीन अर्ब भुक्तानी

 काठमाडौँ, मङ्सिर २३ गते । लामो समयदेखि रोकिएको किसानको दुधको रकम भुक्तानी भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले दुध खरिद गरेको बाँकी रहेको करिब चार अर्ब पियाँ भुक्तानी गरेका हुन् । 

डेढ अर्ब भुक्तानी गर्न बाँकी रहेको डिडिसीले एक अर्ब रुपियाँ भुक्तानी गरिसकेको जनाएको छ । त्यस्तै निजी डेरीले करिब तीन अर्ब भुक्तानी गरेका छन् ।

दुध बेचेको रकम लामो समयसम्म नपाउँदा किसान मारमा परेका थिए । डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले साउनसम्मको रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो । 

तीन महिनाको ४५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । मौज्दातमा रहेको पाउडर (धुलो दुध) र बटर बेचेर किसानको बाँकी रकम भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । डिडिसीसँग अझै तीन लाख केजी बटर र चार लाख केजी पाउडर मौज्दात छ । मौज्दातमा रहेको पाउडर र बटर बिक्री गरेर बाँकी रहेको किसानको रकम भुक्तानी गर्दै जाने डिडिसीले जनाएको छ । हाल बजारमा प्रतिकेजी बटर आठ सय रुपियाँ र पाउडर प्रतिकेजी सात सय रुपियाँ रहेको छ । 

हाल दैनिक एक लाख लिटर दुध सङ्कलन गरिरहेको डिडिसीले जनाएको छ । हाल दैनिक बजारमा ८० हजार लिटर दुध बिक्री हुने र बाँकी रहेको २० हजार लिटर दुधको पाउडर बनाएर राख्ने गरेको डिडिसीले जनाएको छ । पाउडर बनाएको दुध अफ सिजनका बेला बिक्री हुने गरेको छ ।  

यस्तै निजी डेरी उद्योगले पनि करिब तीन अर्ब रुपियाँ दुधको भुक्तानी गरिसकेको जनाएका छन् । डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले किसानको दुधको रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो । पछिल्लो एक महिनाको रकम बाँकी रहे पनि अरू सबै भुक्तानी गरिसकेको उहाँले जानकारी दिनुभयो । 

मौज्दातमा रहेको बटर र पाउडर बिक्री गरेर किसानको अधिकांश रकम भुक्तानी गरिसकेको उहाँले जानकारी दिनुभयो । अन्य समयको तुलनामा चाडपर्वका बेला दुधको खपत बढी हुने गर्छ । 

डिडिसी र निजी डेरी उद्योगले लामो समयसम्म दुधको रकम भुक्तानी नगर्दा किसानले आन्दोलनसमेत गरेका थिए । 

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमर कुँवरले किसानले दुध बिक्री गरेको बक्यौता रकम घट्दै गएको जानकारी दिनुभयो । “विगत लामो समय समम किसानले रकम नपाउँदा धेरै समस्यामा परेको थियो,” उहाँले भन्नुभयो “केही रकम बाँकी भए पनि धेरै रकम भुक्तानी भइसकेकाले किसानलाई राहत मिलेको छ ।” डिडिसी र निजी डेरी उद्योगले उत्पादनको सिजनका बेला दुधको उत्पादन बढी हुँदा बिक्री नभएको दुध पाउडर बनाएर राख्ने गरेका छन् । 

सङ्घका अनुसार मुलुकभर दैनिक ७२ देखि ७५ लिटर दुध उत्पादन हुने गर्छ किसानले प्रतिलिटरमा ७० रुपियाँ पाउने गरेका छन् । बजारमा दुधको उपभोक्ता मूल्य भने प्रतिलिटर प्याकेटवाला एक सय रुपियाँ र खुला ११० रुपियाँ रहेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मुलुकभर २६ लाख ८३ हजार ८७३ मेट्रिक टन दुध उत्पादन भएको छ । आव २०७९.८० मा २६ लाख १३ हजार ८४३ मेट्रिक टन दुध उत्पादन भएको थियो । 

यस्तै आव २०७८/७९ मा २५ लाख ६६ हजार ६१४ मेट्रिक टन दुध उत्पादन भएको थियो । बजारमा खपत बढेसँगै दुधको उत्पादन बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।