• १२ असार २०८१, बुधबार

नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

blog

काठमाडौं, असार २४ गते । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ ।

काठमाडौंमा शुक्रबार बसेको मुल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो ।

प्रतियोगिता पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गर्ने तालिका छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले लोगो र मस्कट पनि सार्वजनिक गरिसकेको छ ।

नवौंको मूल आयोजक समितिको अध्यक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र सदस्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तोकिएको छ भने मुल आयोजक समितिमा २७ सदस्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव नै समितिको सदस्यसचिवको रुपमा रहने निर्देशिकामा उल्लेख गरिएको छ ।

पहिलो बैठकमा विभिन्न खेल संघका पदाधिकारी र तीन विभागिय टोलीको प्रमुखहरुको पनि उपस्थिति छ । खेलकुदमन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मूल आयोजक कमिटीको बैठक आह्वान गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गहतराले नवौं  राष्ट्रिय खेलकुदका लागि बजेट निकासा भएको र कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन हुने बताउनुभयो ।

यसअघि जेठमा हुने भनिए पनि विभिन्न समस्याका कारण प्रतियोगिताको मिति सारिएको थियो । प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ भने दुईवटा खेल प्रदर्शनीको रुपमा आयोजना हुनेछ ।

बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, सातै प्रदेशका खेलकुद सदस्यसचिव, विभागीय टोली, खेल सङ्घका प्रतिनिधिहरुको उपस्थिति छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने थियो । तर कोभिडका कारण धकेलिएको हो ।