• १९ मङ्सिर २०८२, शुक्रबार

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

blog

झापा,  मङ्सिर १९ गते ।  झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लब विजयी बनेको थियो ।

 आर्मी क्लबले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा एभरेस्ट लुम्बिनी क्लबलाई पराजित गरेको थियो । पराजय बेहोरेसँगै एभरेस्ट लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको छ । 

खेलको ‘प्लेयर अफ दी म्याच’ आर्मी क्लबकी वसन्ती साउद हुनुभयो । उहाँलाई नगद पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले अब सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्ने छ । आजको खेल जितेर त्रिभुवन आर्मी क्लब आफ्नो समूह ‘ए’को उपविजेता भएको हो । समूह ‘ए’ बाट एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट लुम्बिनी र त्रिभुवन आर्मी छन्भने समूह ‘बी’ मा न्यू डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस क्लब रहेका छन् ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताउनुभयो । 

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले  दुई लाख, दोस्रोले  एक लाख र तेस्रो हुनेले  ३० हजार रुपियाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताउनुभयो । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ, प्रत्येक दिनको प्लेयर अफ दी म्याचले  पाँच हजार र ट्रफी प्राप्त गर्ने छन् ।

 त्यस्तै बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले  १० हजार र ट्रफी प्राप्त गर्ने छन् । 

मङ्सिर २० गते पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबिच हुने छ । सोही दिन अन्तिम सेमिफाइनल खेल समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबिच हुने छ ।रासस