राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर १९ गते । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४, बाँकेज्युलास्थित भेरी काेरिडोरमा जिप दुर्घटना भएको छ । शुक्रबार दिउँसो जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट आठबिसकोटको राडीतर्फ जाँदै गरेको लु. १ ज. २०८२ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परेर चालकसहित १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घाइते हुनेमा आठबिसकोट नगरपालिका-१३, घेत्मा निवासी ३१ वर्षीय चालक राज विक र सोही स्थानका ३१ वर्षीय सहचालक डिलबहादुर विकसहित १२ जना हुनुहुन्छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेर उद्धार गरिरहेको छ । घाइतेलाई उपचारका लागि आठबिसकोट नगर अस्पताल लिइएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । ब्रेक फेल भएर जिप दुर्घटना भएको बताइएको छ । सडकबाट जिप १५ मिनेटर तल खसेको छ । प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।