बिष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर १८ गते । झापामा प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीन वटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो ।
बुधबार अपरान्ह चेकजाँचको क्रममा मे. १ च. ६८९२, प्र. १–०१–००१ च. ७५२४ र मे. १ च. ४०४५ नम्बरका तीन वटा गाडी रोक्दा अवैध सामान फेला परेको खड्काले जानकारी दिनुभयो । सवारी साधन र चालकसहित ठुलो परिमाणमा रक्सी लगायतका सामग्री बरामद गरिएको प्रहरीको भनाइ छ ।
बच्चाको डाइपर ४१ काटुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ काटुन, चुलबुल लेखिएको रक्सी २०० काटुन, गोर्खा बियर १५० काटुन, ओरियो बिस्कुट १६ काटुन, सेलो र विकुल लेखिएको खाने तेल ८० कार्टुन नियन्त्रणमा लिइएको खड्काले बताउनुभयो ।
खड्काका अनुसार सवारी साधनका चालकहरू अर्जुनधारा–११ बस्ने ४३ वर्षीय दिलिप खड्का, अर्जुनधारा–५ बस्ने ५४ वर्षीय राजाराम खड्का र भद्रपुर–१ बस्ने ४७ वर्षीय उदेन राई सहितलाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालय इटहरीमा बुझाएको खड्काले बताउनुभयो ।