• १८ मङ्सिर २०८२, बिहिबार

ठेक्का सम्झौता तोडिएपछि बाँध निर्माणस्थल सुनसान

blog

ठेक्का सम्झौता तोडिएपछि सुनसान बनेको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गत सुनकोसी नदीको बाँध निर्माणस्थल । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, मङ्सिर १८ गते । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाको बाँध निर्माण लगायतको संरचना निर्माणको ठेक्का सम्झौता तोडिएपछि सुनकोसी नदीमा बाँध निर्माणस्थल सुनसान बनेको छ ।

सुनकोसी नदीमा बाँध र विद्युत् गृह निर्माणका लागि ठेक्का सम्झौता गरेको निर्माण व्यवसायी पटेल–रमण जेभीले अपेक्षा गरे अनुसारको प्रगती दिन नसकेपछि सरकारले कात्तिकको अन्तिम साता उक्त कम्पनिसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको थियो । ठेक्का सम्झौता तोडिएसँगै सिन्धुली र रामेछाप जिल्लाको सिमानामा रहेको सुनकोसी नदीमा बाँध निर्माण स्थल सुनसान बनेको स्थानीयले बताएका छन् ।

ठेक्का सम्झौता तोडिएसँगै सुनकोसी नदीमा बाँध निर्माण गर्न ल्याएको निर्माण सामग्रीहरू उठाएर लैजाने काम भइरहेको सुनकोसी नदीस्थित पटेल–रमण जेभिको फिल्ड अफिसका लेखापाल चिरन्जीबी महतोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बाँध निर्माणमा दैनिक करिब तीन सय मज्दुर र कम्पनिका स्टाप दुई सय गरी पाँच सय हुन्थे । ठेक्का सम्झौता तोडिएसँगै अहिले सबै बेरोजगार भएका छन्, कोही पनि छैनन् ।’

उठाएको निर्माण सामग्रीहरू अहिले कम्पनिको अफिस जनकपुर लैजाने काम भइरहेको उहाँले जानकारी दिनुभयो । निर्माण व्यवसायी उक्त कम्पनिले सम्झौता अनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले कात्तिक २४ गते एक सूचना जारी गरी उक्त सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर तथा सूचना अधिकारी असोक गौतमले सम्झौता भएको करिब ६१ प्रतिशत समय भुक्तान हुँदा भौतिक प्रगती पनि करिब ११ प्रतिशत मात्रै भएपछि उक्त जेभिसँगको ठेक्का सम्झौता विभागले तोडेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले उक्त कम्पनिले हालसम्म गरेको कामको मूल्याङ्कन गर्ने कार्य भइरहेको छ । ठेक्का तोडिएपछि अर्को ठेक्काको तयारी पनि भइरहेको छ । नयाँ दर रेट अध्यावद्यिक गर्ने र नयाँ लागत अनुमान बनाउने काम भइरहेको छ । त्यसको लागि केही समय भने लाग्छ नै ।’

अयोजनाका अनुसार पटेल—रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएसँगै कार्य सम्पादनका लागि राखेको बैङ्क ग्यारेन्टी दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड जफतको प्रक्रिया समेत अघि बढेको छ । उक्त आयोजनाको यस अघि विभागिय मन्त्रीबाट पटक–पटक स्थलगत निरिक्षण गरी बाँध निर्माणको कार्यलाई तीब्र बनाउन निर्देशन हुँदै आए पनि निर्माण व्यवसायिले कामको गति बढाउन सकि रहेका थिएनन् । आर्थिक वर्ष ०७७-०७८ बाट सुरु भएको उक्त आयोजनाको पुरै काम आर्थिक वर्ष ०८४-०८५ सम्ममा सक्ने लक्ष्य रहेको छ ।

आयोजनाका अनुसार निर्माण व्यवसायी पटेल–रमण जेभीले २०७९ साल पुस महिनामा (सन् २०२३, जनवरी १) सम्झौता गरेर चार वर्ष सात महिनामा सक्ने गरी उक्त आयोजना अन्तर्गत सुनकोसी नदीमा बाँध निर्माण र कमलामाई नगरपालिका–२ कुसुमटारमा विद्युत् गृह निर्माण लगायतका संरचना निर्माणको काम सुरु गरेको थियो । बाँध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको उक्त कम्पनीले भुक्तानी भने हालसम्म करिब १५ प्रतिशत अर्थात दुई अर्ब १४ करोड रकम भुक्तानी लगि सकेको छ ।

उक्त जेभीले सुनकोसी नदीमा निर्माण गर्नु पर्ने ३० मिटर आग्लो र १५८ मिटर लम्बाईको बाँध निर्माण निकै सुस्त गरेको आयोजनाका सूचना अधिकारी गौतमले बताउनुभयो । आयोजना अन्तर्गत कुसुमटारबाट १३ दशमलब तीन किलो मिटर लम्बाईको सुरुङ्मार्ग टनेल बोरिङ मेसिन(टिविएम)बाट निर्माण भइसकेको छ । सुनकोेसी नदीमा बाँध निर्माण भएपछि उक्त सुरुङ्बाट प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिण खोलामा खसालीने छ ।  

त्यहाँ ६६ दशमलब २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत् उत्पादन गरिने छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजनाले जनाएको छ ।

आयोजना अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने इन्टेक लगायतका संरचना निर्माण रहेको छ । तेस्रो चरणको काम विद्युत् गृहभित्र विद्युत् उत्पादन गर्नुपर्ने संरचना बनाउनुपर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत् सर्लाहीको नबलपुर पुर्‍याई राष्ट्रिय प्रशारण लाइनमा जोड्नु पर्ने रहेको छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको आयोजनाले जनाएको छ ।