लीलाधर वली
घोराही, मङ्सिर १८ गते । दाङको तीन स्थानीय तहबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक करोड ४४ लाख बढीको धान खरिद गरेको छ । कम्पनीले लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका दुईसय १२ जना किसानसँग एक करोड ४४ लाख ८९ हजार आठसय नौ रुपियाँको धान खरिद गरेको हो ।
कम्पनीले कात्तिक २३ गतेदेखि मंसिरको पहिलो सातासम्म जिल्लामा पाँच हजार क्विन्टल धान खरिद गर्ने कोटाअनुसार चार हजार एकसय ८३ क्विन्टल २० केजी धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लक्ष्यअनुसार जिल्लामा आठसय १६ क्विन्टल ८० केजी धान अपुग भएको छ । सूचना अधिकारी डाँगीका अनुसार पहिलो चरणमा कात्तिक २४ गतेदेखि २८ गतेसम्म गढवा गाउँपालिकामा ७५ जना किसानबाट ८१ लाख ५५ हजार एकसय ९४ रुपियाँ २६ पैसा मूल्यको दुई हजार तीनसय ५४ क्विन्टल ४० केजी धान खरिद गरिएको थियो ।
कार्यालयले गढवामा दुई हजार क्विन्टल धानको कोटा पाएको भए पनि किसानसँग तीन सय ५४ क्विन्टल ४० केजी बढी धान खरिद गरेको छ । त्यसगैरी दोस्रो चरणमा मंसिर १ गतेदेखि ६ गतेसम्म लमही नगरपालिकामा एकसय १३ जना किसानबाट ५१ लाख ६८ हजार चार रुपियाँ ५२ पैसा मूल्यको एक हजार चारसय ९२ क्विन्टल धान खरिद गरेको छ ।
लमहीबाट एक हजार पाँचसय क्विन्टल धान खरिद गर्ने सम्झौता भए पनि एक हजार चारसय ९२ क्विन्टल मात्र धान खरिद गरिएको सूचना अधिकारी डाँगीले बताउनुभयो ।
तेस्रो चरणमा खाद्यले मङ्सिरको ७ गतेदेखि ९ गतेसम्म राप्ती गाउँपालिकामा तीन सय ३६ क्विन्टल ८० केजीमात्र धान खरिद गरेको छ । पालिकाले एक हजार पाँच सय धानको कोटा पाएको भए पनि खरिद समय ढिलो भएको र उक्त क्षेत्रका अधिकांश किसानले मसिनो धान उत्पादन गर्ने भएका कारण धान पाउन नसकेपछि लक्ष्यभन्दा कम धान खरिद भएको सूचना अधिकारी डाँगीले बताउनुभयो ।
सूचना अधिकारी डाँगीका अनुसार राप्तीमा २४ जना किसानसँग ११ लाख ६६ हजार छ सय ११ रुपियाँ २० पैसाको धान खरिद गरिएको थियो । जिल्लामा केन्द्रबाट मोटो धान खरिदका लागि परिपत्र भएको तर अधिकांश किसानले मसिनो धान खेती गर्ने र मोटो धान खेती गरेकाले पनि बिक्री गर्दा लक्ष्यअनुसार धान खरिद गर्न नसकिएको बताउनुभयो ।
खाद्यले जिल्लामा सरकारले निर्धारण गरेको गरेको धानको समर्थन मूल्य तीन हजार चारसय ६३ रुपियाँ ८१ पैसामा धान खरिद गरेको थियो । खाद्यले दाङमा गतवर्ष आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।