तानसेन (पाल्पा), मङ्सिर १८ गते । चरा संरक्षणकर्मीहरूले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन् । जथाभाबी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि बालीमा प्रयोग गरिने विषादी, रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषणलगायतका कारणले चरा लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणकर्मीहरूले चासो देखाएका हुन् ।
उनीहरूले गोष्ठी, छलफल र ‘फिल्ड स्टडी’ गरी चरा संरक्षणमा चासो देखाएका छन् । बुधबार पाल्पाको तानसेनमा चरा संरक्षण गर्ने उद्देश्य राखेर राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ । गोष्ठीमा सहभागी हुन सातै प्रदेशका चरा संरक्षणकर्मी यहाँ आएका छन् ।
उहाँहरुले सरोकारवाला निकायसँग छलफल र चराको अहिलेको अवस्थाका बारेमा जानकारी गराउनुभएको छ । गोष्ठीमा सहभागीहरूले लोप हुँदै जान थालेका चराहरूको संरक्षणमा सबैले चासो देखाउनु पर्नेमा जोड दिएका छन् । उहाँहरुले मानविय कारणले नै चरा सङ्कटको अवस्थामा रहेको भन्दै त्यसको संरक्षण पनि मानवले नै गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मोहनप्रसाद श्रेष्ठले वातावरण र चरा संरक्षणमा गोष्ठीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले समुदायस्तरमा सचेतना जगाउन सके चरा संरक्षण गर्न सकिने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ पाल्पाकी सचिव लक्ष्मी ज्ञवालीले पशुपक्षी संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै आफुहरूले यी क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका सचिव रामचन्द्र रायमाझीले चरा, वातावरण र मानिसबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले चरा र वातावरण संरक्षणमा सबैले चासो देखाउनुपर्ने बताउनुभयो ।
उहाँले चरा लोप हुँदै गर्दा मानव जीवन नै सङ्कटमा पर्ने भएकाले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सचिव रायमाझीले भन्नुभयो, “चरा संरक्षणका लागि समुदाय र विद्यालयस्तरमा पुगेर सचेतनाका कार्यक्रम गर्न जरुरी छ, यसतर्फ नेपाल पक्षी सङ्घले स्थानीय सरकारसँग समन्वय गरेर जानु पर्छ ।”
कार्यक्रममा नेपाल पक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले संस्थाको परिचय, चराका लागि महत्त्वपूर्ण क्षेत्रहरू, आगामी कार्यक्रम तथा प्रजाती संरक्षणमा चालिएका विभिन्न कदमका बारेमा जानकारी गराउनुभएको थियो ।
सोही अवसरमा गुल्मीमा चरा संरक्षण तथा जिवीकोपार्जन सहयोग परियोजनाका अधिकृत शम्भु भट्टराई, रेसुङ्गा, मदाने, थाप्ले सत्यवती वन संरक्षण क्षेत्र गुल्मीका परियोजना अधिकृत नवराज पोखरेलले गुल्मीमा पाइने चराहरूको अवस्था, चुनौतीका र विसिएनका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाइले नाम्खा गाउँपालिका हुम्लामा पाइने कालीकण्ठ सारसको अवस्था र चुनौतीका बारेमा प्रस्तुती राख्नुभएको थियो ।
गोष्ठीमा लोप हुन लागेका चराको संरक्षणमा सबै निकाय एक भएर लाग्ने प्रतिबद्धता जनाइएको अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेले बताउनुभयो । पाल्पामा पनि चराहरूकाे बासस्थान मासिँदै गएकाले चराहरूको संरक्षणमा चुनौती थपिएको खैरेनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छायाँप्रकाश पङ्गेनीले उल्लेख गर्नुभयो । छरछरे वनका सल्लाहकार निरञ्जन भुसालले आगामी दिनहरूमा पनि चरा संरक्षणमा बहस र सचेतनाका कार्यक्रमलाई सशक्त ढङ्गले अगाडि बढाउने बताउनुभयो ।रासस