काठमाडौँ, मङ्सिर १८ गते । आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।
छनोट खेलको तयारीका लागि क्यानले बिहीबार खेलाडीको नाम सार्वजनिक गरेको हो । खेलाडीको बन्द प्रशिक्षण शुक्रबार देखि मुलपानी मैदानमा सुरु हुने छ ।
क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा इन्दु बर्मा, रुबिना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो र कविता कुँवर हुनुहुन्छ ।
यस्तै टोलीमा साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी पनि पर्नु भएको छ ।
आगामी जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म नेपालमा आयोजना हुने ग्लोबल छनोट खेलमा १० टोलीको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘बी’ मा रहेको छ ।
यस समूहमा बङ्गलादेश, नामिबिया, नेदरल्यान्ड र पपुवा न्युगिनी छ । समूह ‘ए’ मा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बावे रहेको छ ।