काठमाडौँ, मङ्सिर १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।
जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताउनुभयो ।
उहाँका अनुसार फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधी आवश्यक नपर्ने हुन्छ । तर दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ ।
कसरी सर्छ ?
फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक हुँदा पनि फ्लू लाग्न सक्छ ।
लक्षण
ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुनु हो ।
रोकथाम
बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने गर्नुपर्दछ । यस्तै बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने गर्नु पर्दछ । रासस