• १६ मङ्सिर २०८२, मङ्गलबार

असोज/कात्तिकको वर्षाको असर

कृषि तथा पशुपन्छी क्षेत्रमा छ अर्ब सतसट्ठी करोडको क्षति

blog

  • धानको उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने 

काठमाडौँ, मङ्सिर १६ गते । यस वर्षका दुई महिनामा आएको वर्षा, बाढीपहिरो र डुबानका कारण छ अर्ब ६७ करोड २८ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । गत असोजको दोस्रो साता र कात्तिकको पनि दोस्रो साताकै बाढीपहिरोले कृषि तथा पशुपन्छी क्षेत्रमा त्यस्तो क्षति पुगेको हो ।

यसबाट धानको उत्पादनमा मात्र पाँचदेखि सात प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत कात्तिक १५ देखि १७ सम्मको वर्षाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा दुई अर्ब ९१ करोड १६ लाख रुपियाँ बराबरको क्षति भएको छ । यस्तै गत असोज १७ देखि १९ सम्मको वर्षाका कारण तीन अर्ब ७६ करोड १२ लाख ५२ हजार रुपियाँ बराबरको क्षति भएको थियो । 

कात्तिक दोस्रो साता आएको बेमौसमी वर्षाले सबैभन्दा धेरै धानमा दुई अर्ब ६६ करोड ४१ लाख २४ हजार रुपियाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । त्यसक्रममा २० हजार हेक्टर क्षेत्रफलमा लगाएको ७५ हजार ६७४ मेट्रिक टन धानबालीमा क्षति पुगेको छ । 

सबैभन्दा धेरै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले कात्तिकमा वर्षाले झन्डै तीन अर्ब रुपियाँ बराबरको कृषि तथा पशुपन्छीमा क्षति भएको जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार पाक्ने चरणमा रहेको धान डुबानमा पर्दा र काटिसकिएका धानमा पानी पस्दा देशभरका २० हजार १.५२ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । 

प्रदेशगत आधारमा कोशी प्रदेश सबैभन्दा बढी प्रभावित रहेको छ । कोशीमा मात्र दुई अर्ब पाँच करोड ४३ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । 

यस्तै मधेश प्रदेशमा २२ करोड ७६ लाख, लुम्बिनी प्रदेशमा १३ करोड ६८ लाख, गण्डकी प्रदेशमा एक करोड ८० लाख र बागमती प्रदेशमा ४७ लाख रुपियाँ बराबरको क्षति भएको छ । 

धानबाहेक तरकारी तथा अन्य नगदे बालीमा पनि बेमौसमी वर्षाले असर पारेको छ । देशभर ५८६ हेक्टर क्षेत्रमा लगाइएको तरकारी खेती नष्ट हुँदा २२ करोड २३ लाख रुपियाँ बराबरको क्षति भएको छ । 

सुनसरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जस्ता तरकारी उत्पादनमा अगाडि रहेका जिल्ला धेरै प्रभावित भएका छन् । यस्तै आलु, कोदो, दलहन, तेलहन र केराबालीमा ६०१ हेक्टर क्षेत्रफलमा क्षति पुग्दा करिब दुई करोड ४१ लाख रुपियाँ बराबरको नोक्सानी भएको मन्त्रालयको अध्ययन प्रतिवेदनले देखाएको छ ।

जिल्लागत क्षतिमा झापा सबैभन्दा अगाडि देखिन्छ । झापाले मात्र ८० करोड ७३ लाख रुपियाँ बराबरको धानबालीमा क्षति बेहोरेको छ । त्यस्तै मोरङले ५८ करोड ७८ लाख, सुनसरीले ४५ करोड ३१ लाख, कपिलवस्तुले २३ करोड छ लाख र बर्दघाट सुस्तापूर्वले १८ करोड ६१ लाख रुपियाँ बराबरको क्षति बेहोर्नु परेको छ । 

पहाडी जिल्लामा तुलनात्मक रूपमा क्षति कम भए पनि काभ्रे, दोलखा र धादिङमा धान तथा कोदोबालीमा आंशिक प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ ।