यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), मङ्सिर १४ गते । धान गहुँ लगायतका अन्नबालीको खेती गर्दा वन्यजन्तुबाट जोगाउन मुस्किल भएपछि मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका स्थानीयवासीले बेसार खेती गरेका छन् ।
बेसारलाई वन्यजन्तुले नोक्सान नगर्ने भएपछि वन्यजन्तु प्रभावित क्षेत्रमा बेसार खेती गरेर किसानले आम्दानी गरेका छन् । विभिन्न सरकारी तथा गैर सरकारी निकायको सहयोगमा बेसार खेती सुरु गरेको मधुवन नगरपालिका–१, कैलासीवासीका किसानरूले बेसार उत्पादन केन्द्र स्थापना गरी बेसारको धुलो बनाएर बेच्दैआएका छन् ।
उद्योग स्थापना गरेपछि किसानको बेसार गाउँमै प्रशोधन भइरहेको छ । किसानहरूले उत्पादन गरेको बेसार खरिद गरी प्रशोधन गरेर बिक्री गर्ने काम साहारा कृषक समूहले गर्दैआएको छ । ८५ जना सदस्य रहेको सो समूहले हात्ती ब्रान्डको धुलो बेसार उत्पादन गरिरहेका छन् ।
बेसार बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका छन् भने प्रशोधित बेसार बिक्रीबाट वार्षिक १५ हजारभन्दा बढी मुनाफा समूहका सदस्यलाई बाँड्ने गरिएको छ । किसानले उत्पादन गरेको बेसार गाउँमै बिक्री हुने भएपछि वन्यजन्तु प्रभावित बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, खाता जैविक मार्गको आसपासको क्षेत्र र विभिन्न सामूदायिक वन छेउछाउमा समेत बेसार खेती हुने गरेको छ ।
मधुवन नगरपालिका–१, कैलासीका नरबहादुर सुनारले वन्यजन्तुले नोक्सान गरेर आम्दानी नै नहुने ६ जग्गामा बेसार खेती गरेर वार्षिक ९० हजारसम्मको बेसार बेच्ने गरेको बताउनुभयो । ठाकुरबाबा नगरपालिका–९, हात्तीसार बस्ने लक्ष्मी थारूले वन्यजन्तु प्रभावित क्षेत्रमा बेसार खेती निक्कै सहज र प्रभावकारी भएको बताउँदै प्रतिकट्ठा तीनदेखि चार क्विन्टलसम्म बेसार उत्पादन हुनेगरेको बताउनुभयो । काँचो बेसार प्रतिकिलोग्राम ३० देखि ४० रुपियाँसम्ममा समूहले किन्ने गरेका छ ।
समूहले नै वार्षिक २५ बिघा जग्गाको बेसार खरिद गर्ने गरेको बताउनुभयो । समूहका सदस्यले मात्र १५ बिघा क्षेत्रफलमा बेसार खेती गरेका छन् । वार्षिक चार सय क्विन्टलभन्दा बढी धुलो आग्र्यानिक बेसार उत्पादन गरेर बिक्री गर्ने गरेको छ ।
सुरुमा बजार नभएर बिक्री गर्न समस्या भए पनि पछिल्लो समय पर्याप्त बजार रहेको समूहले जनाएको छ । धुलो बेसार प्रतिकेजी तीन सय रुपियाँमा बिक्री गर्ने गरिएको छ । स्थानीय बजारदेखि पोखरा र काठमाडौँसम्म आग्र्यानिक बेसार बिक्री हुने गरेको छ ।
“पर्यटकीय क्षेत्रको होटलमा समेत हाम्रै बेसार जान्छ, पर्यटकहरूले समेत आग्र्यानिक बेसार कोशेलीको रूपमा खरिद गरेर लैजाने गरेका छन् ।” अध्यक्ष सुनारले भन्नुभयो, “आजभोलि त अनलाइनमार्फत पनि बिक्री गरिरहेका छौँ ।” पछिल्लो समयमा लगानी गर्ने रकम अभाव भएको हुनाले मागअनुसार उत्पादन गर्न नसकिएको उहाँको गुनासो रहेको छ ।
६ वर्ष अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल, दलित महिला उत्थान सङ्घ लगायतका सङ्घ संस्थाको सहयोगमा कृषि समूह र बेसार उत्पादन केन्द्रको स्थापना भएको थियो । पछिल्लो समयमा मधुवन नगरपालिकाले समेत केन्द्रलाई सहयोग गर्दैआएको छ ।