• १४ मंसिर २०८२, आइतबार

‘विकास पुग्यो तर उपभोग गर्ने मानिस नै छैनन्’

blog

खेतीगाउँमा निर्माण भएको खानेपानी योजनासँगै बाँझो जग्गा र बन्द गरिएको घरबारी । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, मङ्सिर १४ गते । गाउँको सिरानमाथि महाकाली लोकमार्गको चिल्लो सडक छ । मध्य भागबाट महाकाली कोरिडोर अघि बढिरहेको छ । सबै घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । प्रदेश सरकारले ६५ लाखको खानेपानी योजना बनाएको छ । स्वास्थ्य चौकी र आँगनमै कक्षा १२ सम्मको विद्यालय सञ्चालित छ । यद्यपि विकासे संरचनाको उपभोग गर्ने मानिस नहुँदा दोगडाकेदारको खेतीगाउँको विकास अलपत्र छ । 

दोगडाकेदार गाउँपालिका–४, खेतीगाउँमा राम्रो उब्जनी हुने भएकै कारण कुनै बेला गुलजार गाउँको उपमा पाएर नामै खेतीगाउँ राखेको हो । धान, गहुँ, मकै, आँप, मेवा, चिउरी, सुन्तला जस्ता फलफूल र अन्न फल्ने खेतीगाउँ अहिले सुनसान बनेको छ । 

जिल्ला सदरमुकाम गोठालानी बजार पारिपट्टिदेखि नै खेतीगाउँ सुगमको बस्ती हो । छ गाउँपालिका र चार वटा नगरपालिका रहेको बैतडीमा ८४ वडामध्ये खेतीगाउँ सुगमको वडामा पर्छ । जिल्लाका अधिकांश वडाका गाउँमा अझै सडक र बिजुली पुग्न सकेको छैन । तथ्याङ्क अनुसार जिल्लाका ४९ हजार घरधुरीमध्ये २७ हजार घरधुरीमा मात्रै बिजुली बलेको छ । केही वर्षअघिसम्म १७० परिवार बसोबास गर्ने खेतीगाउँमा अहिले मुस्किले १०/१२ परिवारको बसोबास रहेको स्थानीय सत्य भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “विकास त भयो तर उपभोग गर्ने मानिस नै छैनन् ।”  

युवालाई बेरोजगारी र किसानलाई बाँदर आतङ्कले सताएपछि गाउँ रित्तिएको उहाँले बताउनुभयो । पछिल्लो समय आफ्नै घरपरिवारबाट पाँच जना वैदेशिक रोजगारीमा रहेको उहाँले बताउनुभयो । खेतीगाउँसँगै वडाका अन्य गाउँको अवस्था पनि उस्तै छ । गाउँबाट अधिकांश मानिस पलायन भएपछि घरमा ताला झुन्डिएको छ । आँगनमा सिस्नो र वनमाराको झाडी पलाएको छ । छेउमै निर्माण भएको ६५ लाखको खानेपानी उपभोग गर्ने मानिस छैनन् । जमिन बाँझो छ । विद्यालय खाली हुँदै गएका छन् ।

बाँदरका कारणले वडाको ८५ प्रतिशत जग्गा बाँझो रहेको वडाध्यक्ष तर्कराज भट्टले बताउनुभयो । खम्तोला, चौगाउँ र लट्कालीबाहेकका १३ वटा गाउँको जग्गा बाँझो रहेको छ । बाँदर र बसाइँसराइले बाँझो रहेका खेतीगाउँ, जजल्ला, तल्लाभाँ, देउना, बसाली, खालीगडा, लेक, सौगाउँ, धारीगाड, तल्लोगडा, चौडा, मैनाली, मटेलालगायतका गाउँको जग्गा बाँझो छ । बाँदर र बँदेलका कारण किसानले जग्गा बाँझो छाडेको वडाध्यक्ष भट्टले बताउनुभयो ।  

बेरोजगारी र बाँदरका कारण गाउँ रित्तिँदै गएपछि कक्षा १२ सम्म पढाइ हुने जिल्लामै नाम चलेको श्रीकेदार मावि पिपलकोटमा अहिले कक्षा १ देखि ५ सम्ममा जम्मा ३९ जना विद्यार्थी भर्ना भएको व्यवस्थापन समितिका अध्यक्ष हरिशरण भट्टले बताउनुभयो । केही वर्षअघिसम्म पाँच सयभन्दा बढी विद्यार्थी हुने श्रीकेदार माविमा अहिले कक्षा १ देखि १२ सम्म कुल २६० जना विद्यार्थी छन् । 

गाउँ रित्तिएपछि डेरी उद्योग बन्द 

गाउँ रित्तिएपछि वडामा सञ्चालित डेरी उद्योग बन्द भएको सञ्चालक सत्य भट्टले पीडा सुनाउनुभयो । दैनिक दुई सय लिटरभन्दा बढी दुध सङ्कलन गरेर बिक्री गर्दै आइरहेको डेरी बन्द हुँदा बेरोजगार बस्नु परेको उहाँले बताउनुभयो । विदेश जान मनले नमानेपछि मौरीपालनमा लागेको उहाँले बताउनुभयो ।  

गाउँमा चिउरीका रुख प्रशस्तै भएकाले मौरीपालन व्यवसायतिर लागे पनि चिउरी फुल्ने बेला बाँदरले फुल नष्ट गर्दा समस्या भएको उहाँको गुनासो छ । व्यवस्थित ढङ्गले मौरी पालन गर्ने सोच बनाए पनि स्थानीय सरकारबाट कुनै सहयोग नपाएको उहाँले बताउनुभयो ।